एमाले कोशीले पठायो १०१ जना समानुपातिक उम्मेदवारको नाम
काठमाडौं— फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमाले कोशी प्रदेश कमिटीले समानुपातिक तर्फका उम्मेदवारको नाम केन्द्रीय कमिटीलाई पठाएको छ ।
जिल्लाबाट पठाएको नाममा सुझावसहित केन्द्रीय कमिटीमा पठाएको एमाले कोशी प्रदेश कमिटीले जनाएको छ । प्रदेशका १४ जिल्लाबाट आएका १०१ जनाको नाम केन्द्रमा पठाएको प्रदेश सचिव राजकुमार भण्डारीले बताए ।
उनले जिल्लाबाट सिफारिस भएर आएका नामहरूमा केही सुझाव दिएर केन्द्रमा पठाएको बताए । उनले भने,‘जिल्लाबाट आएकै नामहरूलाई सिफारिस गरेर पठाएका छौं।’
नेकपा एमाले प्रतिनिधि सभा पुनर्स्थापनाको माग राख्दै सर्वोच्च गएको भए पनि समानुपातिक तर्फको उम्मेदवारको नामावली भने पठाएको भण्डारीले बताए । उनका अनुसार प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ उम्मेदवार बन्नेहरूको विषयमा भने पार्टीले मापदण्ड नबनाएको बताए ।
एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडाले प्रतिनिधि सभा पुनर्स्थापना हुनेमा ढुक्क भएकाले अहिले नै प्रत्यक्ष तर्फका उम्मेदवार विषयमा पार्टीभित्र छलफल नभएको बताए । उनले फैसला भएपछि यस विषयमा छलफल हुने बताए । नेपाली कम्युनिस्ट पार्टी, नेपाली काँग्रेस, रास्वपा लगायतका पार्टीहरूले प्रत्यक्ष तर्फका उम्मेदवारहरुको समेत नामावली केन्द्रमा पठाइरहेको छ ।
एमालेले भने आगामी केन्द्रीय कमिटीको बैठकले उमेद्वारको बारेमा मापदण्ड तयार पार्ने खतिवडाले बताए । समानुपातिक तर्फका उम्मेदवारको सिफारिसमा पनि मापदण्ड नबनाएको भन्दै एमाले भित्रै विरोध भइरहेको छ ।