युएई ठगी काण्ड : थप १ सय ८३ जना विद्यार्थीले गरे कलेज र कन्सल्टेन्सीविरुद्ध उजुरी

शुक्रबार, ११ पौस २०८२

काठमाडौं – युनाइटेड अरब इमिरेट्स (यूएई) पढ्न गएर ठगीएको भन्दै थप १ सय ८३ नेपालीले अनलाइनमार्फत उजुरी गरेका छन् । ठगीको गुनासो आएपछि परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभागले पीडित विद्यार्थीसँग उजुरी माग गरेको थियो । विभागको आग्रहपछि थप १ सय ८३ जना विद्यार्थीले अनलाइन उजुरी गरेका हुन् ।

यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) मा ६४ जना विद्यार्थीले उपस्थित भएरै उजुरी दिएका थिए । शिक्षा मन्त्रालय अन्तर्गतको उच्च शिक्षा महाशाखा प्रमुख सहसचिव श्रीप्रसाद भट्टराईका अनुसार उजुरीमा भेरिफाई गर्ने काम भइरहेको छ । विद्यार्थीले दिएका उजुरी र उनीहरूले पढ्ने संस्थासँग शिक्षा मन्त्रालयको एनओसीमा रेकर्ड भएका विवरणसँग भेरिफाई गर्ने काम मन्त्रालयले गरिरहेको उनको भनाई छ ।

त्यस्तै सीआईबीले उजुरीमाथि प्रारम्भिक चरणको अनुसन्धान अघि बढाएको छ । सीआईबी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले प्रारम्भिक चरणको अनुसन्धान भइरहेको बताए । अनुसन्धान जारी नै रहेको र सकिएपछि निष्कर्षमा पुगिने सीआईबीले जनाएको छ ।

६४ बाहेक १ सय ८३ जनाले अनलाइनमार्फत आफू ठगिएको भन्दै निवेदन दिएको विभागले जनाएको छ । यी उजुरीमाथि पनि अनुसन्धान हुने मन्त्रालयले जनाएको छ । नेपालका शैक्षिक कन्सल्टेन्सीहरूले यूएईका फ्रि जोनमा स्थापित तथा सञ्चालित विभिन्न विश्वविद्यालय, कलेज तथा व्यावसायिक तालिम केन्द्रमा नेपाली विद्यार्थी पठाउँदै आएका छन् ।

ती शैक्षिक संस्थामध्ये कतिपय मापदण्ड अनुरूप सञ्चालन नभएको, विभिन्न विदेशी विश्वविद्यालयसँग आबद्ध भएको भनिएकोमा त्यस्तो नपाइएको कलेज तथा केन्द्रहरूको आफ्नै भवन नभएको, केही महिनामात्र भाडामा लिएको अपार्टमेन्टमा भौतिक कक्षा सञ्चालन गरी त्यसपछि अनलाइन कक्षा हुने गरेको, प्रतिबद्धता अनुरूप सेवा सुविधा उपलब्ध नभएको जस्ता गुनासा विद्यार्थीबाट आएका थिए । कतिपय विद्यार्थी बीचमै पढाइ छाडेर नेपाल फर्किसकेका छन् भने कतिपय अझै पनि यूएईमा बस्दै आएका छन् ।

१७ शैक्षिक कन्सल्टेन्सी सीआईबीको उच्च निगरानीमा (नामवलीसहित)