रेशम चौधरीको राजनीति केन्द्रमा श्रम संस्कृति पार्टीको हमला

आइतबार, १३ पौस २०८२

कैलाली – श्रम र उत्पादनलाई केन्द्रीय एजेन्डा बनाउँदै आएको श्रम संस्कृति पार्टीले रेशम चौधरीको राजनीतिक केन्द्र मानिने टीकापुरमा आफ्नो सशक्त उपस्थिति जनाएको छ । पार्टीले टीकापुरमा सुदूरपश्चिम प्रदेश सम्पर्क कार्यालय स्थापना गर्दै नागरिक उन्मुक्ति पार्टी र त्यसका संरक्षक चौधरीको राजनीतिक कार्यशैलीमाथि कडा प्रहार गरेको छ ।

कार्यालय उद्घाटन अवसरमा आयोजित कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश इन्चार्ज सरस्वती चौधरीले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पछिल्लो राजनीतिक गतिविधिलाई लक्षित गर्दै भण्डाफोर गरेकी छन् । उनले क्षेत्रीय र जातीय नारामा आधारित राजनीति देशका लागि दीर्घकालीन समाधान नहुने दाबी गदै अगाडि भनिन्, “अहिलेको अवस्थामा केवल क्षेत्रीय वा जातीय नाराले देश चल्दैन । रेशम चौधरीको नेतृत्वमा अघि बढेको राजनीति जनतालाई भ्रममा पार्ने बाहेक देशलाई कुनै निकास दिने अवस्थामा छैन। यो राजनीति निकासविहीन यात्रा मात्र हो।”

कार्यक्रममा श्रम संस्कृति पार्टीलाई नागरिक उन्मुक्ति पार्टीको विकल्पका रूपमा प्रस्तुत गरिएको थियो। भावनात्मक भाषण र विवाद सिर्जना गरेर देश नबन्ने भन्दै पार्टीले श्रम, उत्पादन र पसिनामा आधारित राजनीतिलाई प्राथमिकता दिनुपर्ने जोड दिएको छ । “भाषण र विवादले होइन, श्रम र पसिनाले मात्र देश बन्छ,” प्रमुख अतिथिसमेत रहेकी चौधरीले भनिन्, “झुटा आश्वासन दिएर मत बटुल्ने दिन सकिएको छ, अब उत्पादन र श्रमको राजनीति आवश्यक छ।”

कार्यक्रमका क्रममा पार्टीले आफ्नो चुनाव चिन्ह ‘मुठ्ठीमा माटो’ अंकित ब्यानर सार्वजनिक गरेको छ। टीकापुरमा सम्पर्क कार्यालय स्थापना भएसँगै अब सुदूरपश्चिम प्रदेशभर संगठनलाई आक्रामक रूपमा विस्तार गर्ने घोषणासमेत गरिएको छ।

 

रेशम चौधरीको बलियो प्रभाव मानिने कैलाली जिल्लामै पुगेर श्रम संस्कृति पार्टीले गरेको यो राजनीतिक प्रहारलाई अर्थपूर्ण रूपमा हेरिएको छ। टीकापुरको राजनीतिक वातावरणमा यस कार्यक्रमले नयाँ बहस सिर्जना गरेको स्थानीय विश्लेषकहरूको भनाइ छ। कार्यक्रमपछि श्रम संस्कृति पार्टीकी केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज सरस्वती चौधरीको नेतृत्वमा टिकापुर नगरपालिकास्थित पार्टी कार्यालयबाट टिकापुर बजारसम्म र्याली निकालिएको थियो।

र्यालीका क्रममा उहाँले विशेषगरी थारु समुदायलाई समयमै सचेत हुन आग्रह गर्दै परम्परागत नारामा मात्र सीमित राजनीतिबाट बाहिर निस्कनुपर्ने सन्देश दिएकी थिइन् ।