कुलमान घिसिङले बाबुराम भट्टराईको साथ खोजे
काठमाडौं—उता रवि र बालेन मिलेपछि यता कुलमान घिसिङले बाबुराम भट्टराईको साथ खोजेका छन् ।
रवि लामिछानेले आफ्नो अस्तित्व मेटाउन खोजेको आरोप लगाउँदै एकता प्रकृयाबाट बाहिरिएका कुलमानले बाबुराम भट्टराई र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीसँग एकताको हात अगाडि बढाएका छन् ।
उनीहरुको एकतापछि धरानका मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टी पनि आउने कुलमानको विश्वास छ ।
दुवै पार्टीका वार्ता टोलीबीच पटक—पटक छलफल भएपछि आइतबार शीर्षतहका नेतासहितको छलफल हुने उज्यालो पार्टीका केन्द्रीय सदस्य जितराम तामाङले जानकारी दिए ।
यसअघि कुलमान नेतृत्व ऊज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि एकताको तयारीमा थियो । तर, रास्वपामा विलय हुने गरी नजाने निर्णय गरेको थियो ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद्का सदस्य सुदन किराँतीले पनि यसअघि पटकपटक छलफल भएको र आज पनि छलफल हुने जानकारी दिए ।
‘हामी निरन्तर संवादमै छौँ। हाम्रो गन्तव्य पार्टी एकतासम्मको हो,’ उनले भने ।