रवि–बालेन मिलनबिन्दु : परिवर्तन कि पुनरावृत्ति ?
आइतबार बिहानै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच ७ बुँदे सहमति भयो । सहमति पछि शहरी क्षेत्रमा निकै ठूलो तरङ्ग गयो । सामाजिक संजाल प्रयोगकर्ताले रवि–बालेनको मिलनलाई आगामी निर्वाचनमा ठूलै हस्तक्षप हुने आँकलन गरिरहेका छन् । दुई नेताबिच भएको सम्झौतामा बालेनलाई प्रधानमन्त्रीका रुपमा अगाडि सारिएको छ भने रविलाई पार्टी सभापतिमै निरन्तरता दिने कुरा छ ।
सम्झौता पछि जति सामाजिक संजाल तातिएको छ, त्यो भन्दा धेरै सतहमा केही आशा, धेरै प्रश्न, आशंका र अविश्वास पैदा भएका छन् । जनयुद्धताका हुने बन्द, हड्ताल र अस्थिरताले आजित जनतामा पनि यस्तै केही आशा, धेरै प्रश्न, आशंका र अविश्वासहरु भेटिने गरेका थिए । २०५७ सालतिरको कुरा हो। देश माओवादी जनयुद्धको जगजगीमा थियो। बन्द, हड्ताल र अस्थिरता दैनिक जीवनको अभिन्न हिस्सा बनिसकेका थिए । एक दिन म रत्नपार्कबाट लाजिम्पाटतर्फ जाने क्रममा बिक्रम टेम्पो चढेर गइरहेको थिएँ । टेम्पोको पछिल्लो सिटमा बसेका दुई सहरी गृहिणीबीच अघिल्लो दिनको नेपाल बन्दलाई लिएर मनको मैलो साटासाट हुँदै थियो।
एउटीले थकित स्वरमा भनिरहेकी थिइन्, “सधैं बन्द–हड्ताल सहनुभन्दा त अब माओवादी आइदिए हुन्थ्यो । बाबुरामजस्ता पढेलेखेका मान्छे आए भने देशका लागि केही गर्लान् कि।” त्यो समय माओवादी भन्नेबित्तिकै आम मानिसका लागि बाबुराम भट्टराईको नाम नै पर्याय बनेको थियो । तर अर्की गृहिणीले निराश मुस्कानसहित तुरुन्तै प्रतिवाद गरिन्, “ए‘ जो गोरु आए पनि उही गोठको हो नि । समाज यही हो, को आएर के गर्ने हो र ? अन्ततः सबैले आफ्नै स्वार्थ पूरा गरेर जाने हुन्।”
त्यो साधारण देखिने संवादले राज्य, सत्ता र नेतृत्वप्रतिको नेपाली समाजको आशा र अविश्वासलाई एउटै क्षणमा उजागर गरेको थियो । आजको राजनीतिक अवस्थातर्फ फर्केर हेर्दा, त्यो संवाद कुनै संयोग होइन : नेपाली राजनीतिले पटक–पटक दोहोर्याउँदै आएको नियतिको संक्षिप्त सारजस्तै लाग्छ। त्यसपछि देशले ठूला राजनीतिक परिवर्तन देख्यो । राजतन्त्र गयो, गणतन्त्र आयो, संविधान बन्यो र माओवादी मूलधारको राजनीति शक्ति बन्यो । जसलाई “पढेलेखेका, फरक र नयाँ” भनेर आशा गरिएको थियो, उनीहरू नै क्रमशः पुरानो सत्ता संरचनाको हिस्सा बन्दै गए । परिवर्तन त आयो तर आम नागरिकले अनुभूति गर्ने गरी आएन । यही कारणले पहिलो गृहिणीको आशा क्रमशः खिइँदै गयो र दोस्रो गृहिणीको निराश वाक्य “जो आए पनि उही हो” सामूहिक चेतनाको स्थायी वाक्यजस्तै स्थापित हुन पुग्यो।
यही ऐतिहासिक थकान र निराशाको पृष्ठभूमिमा आज रवि लामिछाने र बालेन शाह जस्ता पात्रहरू उदाएका हुन् । उनीहरू कुनै शून्यबाट आएका होइनन् । उनीहरू पुरानो राजनीतिक असफलताबाट जन्मिएको प्रतिक्रियात्मक चेतनाका प्रतिनिधि हुन् । रवि र बालेन दुवैमा जनता आफैंलाई देख्छ : आक्रोश, हताशा, साहस र “अब त केही फरक हुनैपर्छ” भन्ने गहिरो आकांक्षा।
रवि–बालेनको तथाकथित मिलनबिन्दु वास्तवमा वैचारिकभन्दा बढी भावनात्मक देखिन्छ । दुवै पुरानो सत्ता संरचनासँग ठोक्किन्छन्, दुवैले संस्थागत भाषाभन्दा जनभावनाको भाषा प्रयोग गर्छन् र दुवैको राजनीति व्यक्तित्व केन्द्रित छ । यही कारणले उनीहरू शहरी मतदातामाझ लोकप्रिय बनेका छन् । तर यही कारणले उनीहरूको सहकार्य दिगो हुन्छ कि हुँदैन भन्ने प्रश्न पनि स्वाभाविक रूपमा उठ्छ । नेपाली राजनीतिमा समस्या विचारको अभाव होइन, समस्या नेतृत्वको अहंकार र “म नै समाधान हुँ” भन्ने मानसिकता हो।

लेखक : नवराज बराल
यही मनोविज्ञानका कारण आज धेरै नेपालीको मनमा २०५७ सालको टेम्पोभित्र सुनेको संवाद पुनः जाग्छ। “रवि आए, बालेन आए, अब केही होला कि ?” भन्ने आशा पहिलो गृहिणीजस्तै छ, जबकि “अन्ततः सबै उस्तै हुन्” भन्ने शंका दोस्रो गृहिणीको निरन्तरता हो । यही द्वन्द्व आजको नेपाली राजनीतिक चेतनाको केन्द्रमा उभिएको छ।
यस द्वन्द्वको सबैभन्दा स्पष्ट प्रभाव शहरी क्षेत्रमा देखिन्छ । काठमाडौं, पोखरा, भरतपुर, विराटनगरजस्ता सहरमा डोलायमान मत निर्णायक बन्दै गएको छ। यहाँ मतदाताले पार्टीभन्दा प्रदर्शन हेर्छ, नाराभन्दा साहस खोज्छ । रवि–बालेनको कथानकले यही वर्गलाई आकर्षित गरेको छ । यसले पुराना दललाई पूर्ण रूपमा विस्थापित नगरे पनि गहिरो रूपमा कमजोर भने बनाइरहेको छ । पुराना दल अझै ग्रामीण संरचना, संगठन र राज्य संयन्त्रमा बलिया छन् तर उनीहरूको नैतिक वैधता तीव्र रूपमा खस्कँदै गएको छ।
ग्रामीण नेपालमा परिवर्तन ढिलो देखिए पनि रोकिएको छैन । सामाजिक सञ्जाल, वैदेशिक रोजगारी र शहरी चेतनाको प्रभावले ग्रामीण समाज पनि क्रमशः प्रश्न गर्न थालेको छ । आज होइन, भोलि होइन, तर निकट भविष्यमा यही प्रश्नले ग्रामीण राजनीतिलाई पनि हल्लाउने संकेत देखिन्छ । हर्क साम्पाङ, कुलमान घिसिङ जस्ता अन्य वैकल्पिक पात्रहरू पनि यही प्रवाहका उपज हुन् । तर यहाँ समस्या एउटै छ, सबै स्वतन्त्र ब्रान्ड हुन्, सबै “केन्द्र” बन्न चाहन्छन् । त्यसैले एउटै पार्टीभित्र संस्थागत एकता कठिन देखिन्छ । सम्भावना छ भने एउटै एजेन्डा र साझा कथानकमा आधारित ढीला सहकार्य मात्र।
अन्ततः प्रश्न रवि, बालेन वा अरू कसैले जित्छ कि हार्छ भन्ने मात्र होइन । प्रश्न यो हो—के उनीहरू पहिलो गृहिणीको आशालाई दोस्रो गृहिणीको नियतिमा बदलिन नदिने सामर्थ्य राख्छन् ? कि फेरि अर्को पुस्ताले अर्को टेम्पोमा बसेर उही संवाद दोहोर्याउनेछ ? रवि–बालेनको उदयले नेपाली राजनीतिमा नयाँ अध्याय खुल्ने सम्भावना अवश्य दिएको छ । तर त्यो अध्याय लेखिन्छ कि फेरि पुरानै कथा नयाँ अनुहारसहित दोहोरिन्छ ? त्यसको उत्तर अझै खुला छ । नेपाली राजनीतिले अब व्यक्ति होइन, परीक्षण खोजिरहेको छ । समयले चाँडै बताउनेछ, यो परिवर्तन वास्तविक थियो कि केवल आशाको अर्को चक्र मात्र।