दुई तिहाइ केन्द्रीय सदस्यको निर्णयले मात्रै पार्टी एकता हुन्छ : रेशम चौधरी

सोमबार, १४ पौस २०८२

काठमाडौं—नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले नाउपासँगको एकता अहिले सम्भव नभएको बताएका छन् ।

सोमबार निर्वाचन आयोगमा समानुपातिक सूची बुझाउन पुगेका चौधरीले रञ्जिता श्रेष्ठ नेतृत्वको नाउपासँगको एकताबारे यस्तो बताएका हुन् । ‘राजनीतिक पार्टी एक हुन कानुनी अड्चन र देशले बनाएको नीति नियम तथा संविधानको पालना गर्नुपर्छ’, चौधरीले भने, ‘नाउपाको विधानमा दुई तिहाइ केन्द्रीय सदस्यले निर्णय गरेपछि मात्रै पार्टी एकीकृत हुन्छ ।

नाउपा नेपालको पनि केन्द्रीय समिति बैठकले अनुमोदन गरेपछि पार्टी एकीकरण प्रक्रिया अघि बढ्छ ।’

चौधरीले अहिले दुवै पक्षले केन्द्रीय समिति बैठक बसाउने अवस्था नभएको बताए । ‘निर्वाचन आयोगमा दुवै दल दर्ता भएका छौ । हामी चुनाव लड्दैछौं उहाँहरु के गर्नुहुन्छ थाहा छैन’, चौधरीको भनाइ छ ।