सुदन गुरुङले ऊर्जामन्त्री कुलमान घिसिङलाई बौद्धबाट उठाएर कमलपोखरी पुर्याए

सोमबार, १४ पौस २०८२

काठमाडौं—सुदन गुरुङले ऊर्जामन्त्री कुलमान घिसिङलाई अपहरण शैलीमा बौद्धबाट उठाएर कमलपोखरी पुर्याएका छन् ।

बौद्धको होटल अनुतारामा जारी केन्द्रीय कमिटीको बैठकबाट उठाएर गुरुङले रवि र बालेन बसेको कमलपोखरीस्थित एक फिल्म स्टुडियोमा पुर्याएका हुन् ।

‘सुधन आएर कुलमानको हात समाउँदै ढोगे । एकछिन कमलपोखरी जाउँ न दाइ भने । सुधनको आफ्नै गाडीमा हालेर लिएर गए । यसो हेर्दा अपहरण शैलीमा लगियो ।’, बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए । कुलमान समानुपातिक उम्मेदवारको सूची तयार पारिरहेका बेलामा सुदनले उठाएर लगेका हुन् ।

सोमबार अपराह्न बौद्धको अन्तरा होटलमा उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक बसिरहेको थियो । उक्त बैठकमा पार्टीको संरक्षक समेत रहेका कुलमान घिसिङ समेत सहभागी थिए ।

त्यसैबेला सुदन गुरुङ होटलमा पुगे । उनले कुलमानलाई ‘फेरि मिल्नुपर्छ’ भन्दै छलफलमा जान आग्रह गरे । फाइनल लिस्ट तयार भइरहेको अवस्थामा फेरि छलफलमा जुट्न आनाकानी गरिरहेका थिए कुलमान । तर, सुदनले छाडेनन् । उनलाई हात समातेर लगेपछि कुलमान केन्द्रीय समितिबाट बाहिरिएका थिए ।

अहिले उज्यालो नेपाल पार्टीले ११० जनाकै अन्तिम सूची तयार पारिसकेको छ । सूची बुझाउने अन्तिम म्याद आज भएको र पाँच बजेभित्र पत्र दर्ता गरिसक्नुपर्ने भएकोले अहिले उज्यालो नेपाल पार्टीका प्रतिनिधिहरू अहिले निर्वाचन आयोगमा पुगिसकेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

उनका अनुसार अहिले उज्यालोले समानुपातिक सूची दर्ताका लागि शुल्क बुझाएर निस्सा लिइसकेको छ । सूची तयार भए पनि अहिलेसम्म बुझाइसकेको छैन ।

अहिले कमलपोखरीमा रास्वपा सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र घिसिङबिच अन्तिम वार्ता भइरहेको छ । उक्त वार्ताको निष्कर्षका आधारमा सूची बुझाउने कि नबुझाउने निश्चित हुने उनको भनाइ छ ।