कुहिरोमा हराएको कांग्रेस

मंगलबार, १५ पौस २०८२

एकातिर पार्टी महाधिवेशनको सम्भावना क्रमशः क्षीण हुँदै गएको छ । विशेष महाधिवेशनबारे केन्द्रीय समितिले अहिलेसम्म कुनै अपनत्व देखाउँदै ठोस निर्णय लिन सकेको छैन । चुनावको मिति नजिकिँदै जाँदा पनि पार्टीभित्र तयारीभन्दा बढी अन्योल र अनिश्चितता हावी देखिन्छ।

अर्कोतिर, देशका ठूला वैकल्पिक राजनीतिक शक्तिहरू रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङ एकै बिन्दुमा उभिन सक्ने संकेतले राष्ट्रिय राजनीतिमा ठूलो तरङ्ग सिर्जना गरेको छ । नयाँ र पुराना सबै राजनीतिक शक्तिहरू आ–आफ्नो अस्तित्व र औचित्य जोगाउने संघर्षमा छन् ।

यस्तो निर्णायक घडीमा एउटा गम्भीर प्रश्न उठ्छः देशको सबैभन्दा पुरानो, संस्थागत र निर्णायक शक्ति नेपाली कांग्रेस किन आज कुहिरोमा हराएको, काकाकुल अवस्थामा अनिर्णयको बन्दी बनेको छ ?

अनिर्णयको जरो, नेतृत्व, संरचना र दृष्टिकोण

कांग्रेसको वर्तमान संकट केवल नेतृत्व परिवर्तनको प्रश्न मात्र होइनस यो गहिरो रूपमा दृष्टिकोणको संकट हो। पार्टी अझै पनि आफूलाई “इतिहासले बोकिएको शक्ति” ठानिरहेको छ, तर जनताले खोजिरहेको कांग्रेस भने “भविष्यको मार्गदर्शक शक्ति” हो। महाधिवेशन टार्ने प्रवृत्ति, आन्तरिक लोकतन्त्रप्रति उदासीनता, र पद–सन्तुलनमा केन्द्रित राजनीति कांग्रेसलाई क्रमशः निष्क्रिय र दिशाहीन बनाउँदै लगेको छ।

विशेष महाधिवेशनजस्तो संवैधानिक र राजनीतिक उपायलाई नै ‘जोखिम’ ठान्नु वास्तवमा नेतृत्वको कमजोर आत्मविश्वासको संकेत हो। चुनाव नजिकिँदै गर्दा पनि संगठन चलायमान नहुनु, नीति–कार्यक्रमबारे स्पष्टता नआउनु, र युवालाई राजनीतिक निर्णय प्रक्रियाबाट टाढा राखिनु कांग्रेसका आत्मघाती कमजोरीका रूपमा देखा परेका छन्।

तरल राजनीति : संकटसँगै कांग्रेसका लागि अवसर

आजको राजनीतिक अवस्था अत्यन्त तरल छ। न स्थिरता छ, न स्पष्ट दिशा। पुराना समीकरणहरू भत्किँदै छन्। यो तरलता आकस्मिक होइन : यो कांग्रेससहित सम्पूर्ण परम्परागत दलहरूको आफ्नै राजनीतिक उपज हो—वर्षौँको अकर्मण्यता, सत्ता–केन्द्रित सोच र जनअपेक्षाप्रतिको निरन्तर बेवास्ताको परिणाम।

तर इतिहासले देखाएको छ कि कांग्रेसले यस्तै गहिरा संकटका घडीहरूमा नेतृत्व लिएर पुनः निर्णायक शक्ति बन्ने अवसर पाउँदै आएको छ। २००७, २०४६ र २०६२/६३ जस्ता राजनीतिक मोडहरू त्यसका स्पष्ट उदाहरण हुन्। आजको तरल अवस्था पनि कांग्रेसका लागि संकट मात्र होइन, पुनः एकपटक नेतृत्वदायी भूमिका खेल्ने ऐतिहासिक अवसर हो।

बाहिरको चुनौती : विकल्पको उदय

रवि–बालेनको सम्भावित एकता कुनै व्यक्तिको व्यक्तिगत महत्त्वाकांक्षा मात्र होइन, यो जनताको निराशाबाट जन्मिएको विकल्पको खोजी हो। जब परम्परागत शक्तिहरू निर्णायक हुन चुक्छन्, जनता वैकल्पिक नेतृत्वतर्फ आकर्षित हुन्छन्। यो तरङ्ग कांग्रेसविरुद्ध मात्र होइन, सम्पूर्ण पुरानो राजनीतिक संरचनाविरुद्धको मौन विद्रोह हो।

विडम्बना के छ भने, कांग्रेसले यसलाई गम्भीर चेतावनीका रूपमा होइन, अस्थायी हल्लाका रूपमा लिने प्रवृत्ति देखाइरहेको छ। यही आत्मसन्तुष्टिले कांग्रेसलाई कुहिरोभित्र झनै गहिरो डुबाइरहेको छ।

नेतृत्वको घडी : इतिहास कि गुट ?

आजको यो तरल राजनीतिक परिस्थितिमा कांग्रेसले नेतृत्व लिएर निर्णायक शक्ति बन्ने अवसर व्यक्तिगत रूपमा सभापति शेरबहादुर देउवाको काँधमा आइपरेको छ। यो सामान्य दायित्व होइनः यो ऐतिहासिक जिम्मेवारी हो ।

अब प्रश्न स्पष्ट छ, उहाँ गुट, उपगुट र झिना–मसिना स्वार्थमा अल्झिरहनुहुन्छ, कि इतिहास रच्ने साहस देखाउनुहुन्छ ? यदि आज पनि समय आन्तरिक शक्ति–सन्तुलन, पद बाँडफाँड र अस्थायी सहमतिमै खर्चियो भने, इतिहासले यो घडीलाई गुमेको अवसरका रूपमा स्मरण गर्नेछ। तर यदि सभापतिले गुटीय सीमाभन्दा माथि उठेर विशेष महाधिवेशन, आन्तरिक लोकतन्त्र र स्पष्ट राजनीतिक दिशाको निर्णय गर्नुभयो भने, उहाँ केवल कांग्रेसलाई मात्र होइन, देशलाई समेत निकास दिने नेतृत्वका रूपमा स्थापित हुन सक्नुहुन्छ।

कुहिरोबाट निस्किने सम्भावित उपाय अब कांग्रेससँग दुई विकल्प मात्र बाँकी छन्ः परिवर्तनको नेतृत्व गर्ने कि परिवर्तनको सिकार बन्ने। तत्काल विशेष महाधिवेशन अनिर्णयको अन्त्य गर्दै नेतृत्वको वैधानिक पुनर्संरचना अपरिहार्य छ। युवा पुस्तालाई निर्णय–केन्द्रमा ल्याउने साहस युवालाई भाषणमा होइन, संरचनामा स्थान दिनुपर्छ। जेन–जी कांग्रेसको भविष्य हो-केवल भोट बैंक होइन।

स्पष्ट राजनीतिक दृष्टिकोण

संघीयता, सुशासन, आर्थिक न्याय र लोकतन्त्रबारेको अस्पष्टता अन्त्य हुनुपर्छ। मध्यमार्गी कांग्रेस अब निर्णायक बन्नैपर्छ। नैतिक नेतृत्व र आत्मालोचना
गल्ती स्वीकार्न सक्ने पार्टी मात्र पुनर्जीवित हुन्छ। आत्मालोचना कमजोरी होइन, राजनीतिक परिपक्वताको परिचायक हो।

निष्कर्ष : कांग्रेस उठ्नैपर्छ

नेपाली कांग्रेस केवल एउटा पार्टी मात्र होइनस यो लोकतान्त्रिक इतिहासको एउटा स्तम्भ हो। तर इतिहासको गौरवले मात्र वर्तमान चल्दैन। यदि कांग्रेस अझै पनि अनिर्णय, गुट र आत्मसन्तुष्टिमा अल्झिरह्यो भने, विकल्पहरू निर्णायक बन्नेछन् र कांग्रेस दर्शक मात्र हुनेछ। आजको तरल राजनीति कांग्रेसका लागि अन्त्य होइन- निर्णायक अवसर हो। अब प्रश्न समयको होइन, साहसको हो।