रास्वपाको समानुपातिक सूचीमा परेपछि प्रकाश सपुतले मुख खोले

मंगलबार, १५ पौस २०८२

काठमाडौं — गायक तथा अभिनेता प्रकाश सपुतले अब आफ्नो समय, ऊर्जा र अनुभव देशकै लागि समर्पण गर्ने घोषणा गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक उम्मेदवार बनेपछि सपुतले संचारमाध्यममा कुरा गर्दै राजनीतिलाई आफ्नो आगामी यात्राको केन्द्र बनाउने बताए।

‘अबको मेरो जोडबल देशलाई धेरै समय दिने भन्नेमा हुनेछ। राजनीतिमा सानोतिनो भूमिका पाइयो भने देशकै लागि आफ्नो ऊर्जा समर्पण गर्ने मेरो सोच हो’ उनले भने।

‘कलाकारितामा सपना पूरा भइसक्यो’

कलाकारको रूपमा आफूले खोजेको सबै कुरा प्राप्त गरिसकेको बताउँदै सपुतले भने, ‘फिल्म वा संगीतमा अर्को हिट खोज्नुबाहेक अब नयाँ सपना छैन। मलाई नाम चाहिएको छैन। मान्छेले चिनून् भन्ने सपना थियो, त्यो पूरा भइसकेको छ।’

उनका अनुसार, यही समयलाई उनले देशका लागि केही गर्ने अवसर का रूपमा हेरेका छन्।

राजनीतिमा प्रवेशबारे उनले भने, ‘वैकल्पिक शक्तिलाई सपोर्ट गर्नुपर्छ भन्ने सोच पहिलेदेखि नै थियो। अब औपचारिक रूपमा अघि बढ्ने समय आएको हो।’

सपुतले अहिलेको आवश्यकता व्यवस्था परिवर्तन होइन, अवस्था सुधार भएको बताए। ‘योग्य, क्षमतावान र नयाँ राजनीतिक अभ्यासबाट आएका मानिसहरूसँग काम गर्न सकिन्छ भन्ने विश्वास छ,’ उनी भन्छन्।