एमाले उपाध्यक्ष रामबहादुर थापाले एमाले-कांग्रेसबीच चुनावी तालमेल हुनुपर्ने प्रस्ताव अगाडि बढाए
काठमाडौं—एमाले उपाध्यक्ष रामबहादुर थापाले एमाले–कांग्रेसबीच चुनावी तालमेल हुनुपर्ने प्रस्ताव अगाडि बढाएका छन् ।
जेनजी आन्दोलनपछि मुलुक संकटमा फसेको उल्लेख गर्दै त्यसलाई निकास दिन कांग्रेस–एमाले मोर्चाबन्दी कसेर अघि बढ्न ढिलाई गर्न नहुने बताएका हुन् ।
संसद पुनःस्थापना गरेर वा निर्वाचनमा गएर कांग्रेस एमालेले प्रतिगमनकारीहरूलाई परास्त गर्दै मुलुकलाई सही बाटोमा अघि बढाउनुपर्नेमा उनको जोड छ । थापाले निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट संख्या बाँढेर सहकार्यका साथ अघि बढ्न सकिने प्रस्ताव गरेका छन् ।
मंगलबार काठमाडौंमा मदन–आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले मुलुक संकटमा फसेको उल्लेख गर्दै त्यसलाई निकास दिन कांग्रेस–एमाले मोर्चाबन्दी कसेर अघि बढ्न ढिलाई गर्न नहुने बताए।
उनले भने, ‘कांग्रेस र एमालेको, दुवै शक्तिहरूको संयुक्त आन्दोलनबाट हामी लोकतन्त्रको पुनस्थापना गर्नसक्छौँ। त्यसकारण यो रणनीति, यो बाटोबाट हामी अगाडि बढ्यौँ भने हामीले लोकतन्त्रलाई फेरि पुनःस्थापना गर्न सकिन्छ। र, हाम्रो सहकार्य, हाम्रो मोर्चाले नै देशको राष्ट्रिय स्वाधिनता र अस्तित्वलाई हामी टिकाउन सक्छौँ। त्यसकारण अविलम्ब दुवै दलले अवको लोकतन्त्रलाई पुनस्थापित गर्ने रणनीति र यसका कार्यनीतिहरु सुविचारित ढंगले निश्चित गर्न जरुरी छ।’
संसद पुनःस्थापना गरेर वा निर्वाचनमा गएर कांग्रेस एमालेले प्रतिगमनकारीहरूलाई परास्त गर्दै मुलुकलाई सही बाटोमा अघि बढाउनुपर्ने उनको भनाई थियो। उपाध्यक्ष थापाले निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट संख्या बाँढेर सहकार्यका साथ अघि बढ्न सक्ने धारणा समेत राखे।
उनले भने, ‘नयाँ संसद पुनःस्थापना गरेर होस् वा विघटित संसद पुरानो संसदलाई पुनःस्थापना गरेर होस्। यो दुई वटा बाटोबाट हामी अगाडि बढ्नसक्छौँ। त्यसकारणले नयाँ संसदमा वामपन्थी लोकतन्त्रवादी शक्तिहरुको वर्चश्वलाई स्थापित गरेर हामी फेरि लोकतन्त्रलाई स्थापित गर्नसक्छौँ। वा हामीले विघटित संसदलाई पुनःस्थापित गरेर त्यो अदालतको बाटोबाट वा सडकको बाटोबाट फागुन २१ सम्म हामीलाई समय छ। त्यो हामीले पुरानो संसदलाई जहाँ वामपन्थी लोकतन्त्रवादीहरुको वर्चश्व थियो। त्यसलाई पुनःस्थापित गरेर लोकतन्त्रलाई पुनःस्थापित गर्न सकिन्छ।’
उपाध्यक्ष थापाले भदौ २३ र २४ गते मुलुकमा प्रतिक्रान्ति भएको र देश गम्भीर संकटमा फसेको जिकीर गर्दै त्यसको निदान कांग्रेस, एमालेले मिलेर मात्रै दिनसक्ने समेत दाबी गरे।