ईक्यान अध्यक्षमा प्रथम उपाध्यक्ष पौडेलको उम्मेदवारी घोषणा

मंगलबार, १५ पौस २०८२

काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी नेतृत्वका लागि प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल (एण्ड्यु)ले उम्मेदवारी घोषणा गरेका छन् । पौडेलले सामाजिक संजाल फेसबुकमार्फत भिडियो संन्देश जारी गर्दै अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणा गर्दै उनले ईक्यानलाई अझ बलियो, एकताबद्ध र दिगो संस्थाको रूपमा अगाडि बढाउने स्पष्ट प्रतिबद्धता रहेको बताएका छन् । ‘ईक्यान भनेको केवल संस्था मात्रै होइन, यो थुप्रै कन्सल्टेन्सीहरूको, विद्यार्थी, अभिभावकहरूको आस्थाको धरोहर र गुनासोको भारी बिसाउने ठाउँ हो । त्यसैले इक्यानलाई साझा संस्था बनाउनका लागि उम्मेदवारी दिएको छु ।’ मंगलबार बेलुका भिडियो संदेशमार्फत उम्मेदवारी घोषणा गर्दै उनले भनेका छन् । उनले आफू प्रथम उपाध्यक्ष हुँदा समूहमा काम गर्ने क्रममा इक्यानको जिम्मेवारी, चुनौती र सम्भावनाहरू नजिकबाट देखेको भन्दै आज आफू अध्यक्षको स्वाभाविक उम्मेदवार रहेको बताएका छन् ।

दुई दशक भन्दा बढी समय देखि शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील पौडेल ग्रेस इन्टरनेसनलका सञ्चालक हुन् । इक्यान भित्र स्वच्छ छवि बनाएका उनी समयमै जिम्मेवारी पुरा गर्न सक्ने, कुशल नेतृत्वकर्ता र सफल व्यवसायीका रूपमा चिनिन्छन् ।

उनलाई शैक्षिक परामर्श क्षेत्रका मुर्धन्य व्यक्तित्वहरु महेशबाबु तिमल्सिना, राजेन्द्र रिजाल, दिपक गुरुङ, महेश कार्की, सरोज बस्नेत लगायतको समर्थन रहेको छ । प्रथम उपाध्यक्ष भएर ईक्यानमा शशक्त भुमिका खेलेका पौडेल इक्यानको लिगेसी तोड्न सक्ने अपेक्षासहित कांग्रेस निकटका व्यवसायीहरुले बलियो उम्मेदवारको रुपमा उनलाई प्रस्तुत गरेका हुन् ।