इक्यानको महासचिवमा भवनाथ हुमागाईंको उम्मेदवारी घोषणा
काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को महासचिव पदका लागि वर्तामान कार्यसमितिका प्रथम सचिव भवनाथ हुँमागाईंले उम्मेदवारी घोषणा गरेका छन् । बुधबार सामाजिक संजाल फेसबुकमार्फत उनले उम्मेदवारी घोषणा गरेका हुन् ।
उम्मेदवारी घोषणा गर्दै उनले नेपालमा शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, मर्यादित र सशक्त बनाउने साझा अभियानमा आफूू लामो समयदेखि निरन्तर क्रियाशील रहेको बताएका छन् । शैक्षिक परामर्श व्यवसायमा प्रत्यक्ष संलग्न रहँदै इक्यानमा एक कार्यकाल कार्यसमिति सदस्य, हाल प्रथम सचिव तथा संगठन विभाग र आन्तरिक मामिला विभागको संयोजकको जिम्मेवारी वहन गर्दै संस्थागत सुदृढीकरणमा योगदान पुर्याउँदै आएको उनको दावि छ ।
‘संस्थालाई अब रणनीतिक सोच, निर्णायक नेतृत्व र ७ सय बढी सदस्यहरूको भविष्य सुरक्षित गर्न सक्ने सक्षम नेतृत्वको आवश्यकता छ। महासचिवको भूमिका औपचारिक जिम्मेवारी मात्र होइन, यो सदस्यहरूको सुरक्षा, शाखाहरूको सशक्तीकरण र संस्थाको गरिमाको प्रत्यक्ष जिम्मेवारी हो । हामीले इक्यानमा एउटा यस्तो ुप्रोफेसनल इकोसिस्टम निर्माण गर्नुछ, जहाँ नयाँ उद्यमीदेखि स्थापित व्यवसायीसम्म सबैको भविष्य सुनिश्चित होस् र राज्यले परामर्श क्षेत्रलाई हेर्ने दृष्टिकोण नियमनकारी मात्र नभई, एउटा अपरिहार्य ‘knowledge partner’ का रूपमा स्थापित होस्।’ उम्मेदवारी घोषणा गर्दै उनले भनेका छन् ।
उनले अनुभव, निरन्तरता र स्पष्ट कार्यदिशासहित इक्यानलाई अझ बलियो, एकताबद्ध र सम्मानित संस्थाका रूपमा अगाडि बढाउने दृढ संकल्पका आफूले महासचिव पदका लागि उम्मेदवारी प्रस्तुत गरेको बताएका छन् ।
यस्ता छन् इक्यानलाई उनले दिएको योगदानहरू
• ECAN केन्द्र र जिल्ला शाखाबीच प्रभावकारी समन्वय र एकीकृत कार्यप्रणाली स्थापना : केन्द्र र शाखाबीचको दूरी घटाउँदै नियमित संवाद, नीतिगत स्पष्टता र साझा कार्ययोजना निर्माणमा सक्रिय भूमिका निर्वाह गरेको छु। यसले संगठनभित्र एकरूपता, विश्वास र कार्यान्वयन क्षमता बढाउन सहयोग पुर्याएको छ।
• शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा लामो समयदेखि अवरुद्ध शैक्षिक परामर्श व्यवसाय नवीकरण प्रक्रिया पुनः सुचारु गर्न अग्रणी भूमिका : सम्बन्धित मन्त्रालयसँग निरन्तर संवाद, दस्तावेजी समन्वय र संस्थागत पहलमार्फत शैक्षिक परामर्श व्यवसायको नवीकरण प्रक्रियालाई पुनः सक्रिय बनाउन निर्णायक भूमिका खेलेको छु, जसले सदस्यहरूको व्यवसायिक सुरक्षामा ठोस आधार तयार गरेको छ।
• दुई नयाँ शाखा र एक समन्वय केन्द्र स्थापना मार्फत संगठन विस्तार : भौगोलिक पहुँच विस्तार गर्दै नयाँ शाखा र समन्वय केन्द्र स्थापना गरी ECAN लाई थप समावेशी, प्रतिनिधिमूलक र सशक्त संस्थाको रूपमा विस्तार गर्न योगदान पुर्याएको छु।
• ECAN को सदस्यता विस्तार तथा आजीवन सदस्यता प्रवर्द्धनमा सक्रिय योगदान : संस्थाप्रति विश्वास बढाउने नीति, सदस्य–मैत्री पहल र प्रत्यक्ष संवादमार्फत नयाँ सदस्य भित्र्याउने तथा आजीवन सदस्यता प्रवर्द्धन गर्दै संस्थाको दीर्घकालीन स्थायित्वमा योगदान दिएको छु।
महासचिव निर्वाचित भएपछि के गर्ने ? यस्ता छन् उनका प्रतिवद्धता
• केन्द्र–शाखा समन्वयलाई संस्थागत र परिणाममुखी बनाउने : केन्द्र र शाखाबीच स्पष्ट अधिकार क्षेत्र, नियमित समन्वय संयन्त्र र कार्यसम्पादनमा आधारित प्रणाली विकास गरी संगठनलाई व्यवहारिक रूपमा बलियो बनाउने प्रतिबद्धता गर्दछु।
• राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रभावकारी Policy Advocacy : शैक्षिक परामर्श व्यवसायसँग सम्बन्धित नीति निर्माण, संशोधन र कार्यान्वयन प्रक्रियामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायहरूसँग समन्वय गरी ECAN को आवाजलाई प्रभावकारी रूपमा स्थापित गर्नेछु।
• सरकार तथा सरोकारवाला निकायसँग ECAN को संस्थागत हैसियत मजबुत बनाउने : मन्त्रालय, नियामक निकाय, कूटनीतिक मिशन र अन्तर्राष्ट्रिय साझेदारहरूसँग संस्थागत सम्बन्ध विस्तार गरी ECAN लाई नीतिगत साझेदारको रूपमा स्थापित गर्ने लक्ष्य लिएको छु।
• पारदर्शी, उत्तरदायी र आर्थिक रूपमा सबल संस्था निर्माण : नियमित प्रतिवेदन र सदस्यलाई जानकारी दिने अभ्यासमार्फत संस्थामा सुशासन र आर्थिक स्थायित्व सुनिश्चित गर्नेछु।
• युवा तथा नयाँ शैक्षिक परामर्श उद्यमीलाई समेट्ने दीर्घकालीन रणनीति : नयाँ पुस्ताका व्यवसायीलाई मार्गदर्शन, क्षमता विकास र संस्थागत सहभागितामार्फत ECAN भित्र अवसर र नेतृत्व विकास गर्ने स्पष्ट योजना कार्यान्वयन गर्नेछु।
• Multi-destination Educational Student Mobility मा रणनीतिक रूपमा काम गर्न : विद्यार्थी गन्तव्य विविधीकरण, नयाँ अध्ययन बजारको पहिचान, अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य र सदस्यहरूको व्यवसायिक अवसर विस्तार गर्ने रणनीतिमा ECAN लाई अग्रसर बनाउनेछु।