बालेन र कुलमान समूहलाई रास्वपामा दुई-दुई पदाधिकारी दिने सहमति

बिहिबार, १७ पौस २०८२

काठमाडौँ—रवि लामिछानेको रास्वपाले प्रदेशसभा सदस्यमा पनि खाता खोलेको छ ।

कुलमान घिसिङको उज्यालो नेपाल पार्टी रास्वपामा मिसिएपछि सुदुरपश्चिम प्रदेशसभामा खाता खुलेको हो ।

२०७९ सालमा स्वतन्त्रबाट निर्वाचित प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशी उनेपा हुँदै रास्वपामा समाहित भएपछि रास्वपाबाट पहिलो प्रदेशसभा सांसदको नाम दर्ज गराएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गरेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङका तर्फबाट पदाधिकारीमा कति जना समावेश गर्ने भन्नेबारे पनि सहमति भएको छ।

बालेन समूहबाट एक जना महामन्त्री र एक जना सहमहामन्त्री नियुक्त गर्ने सहमति भएको रास्वपा स्रोतले जानकारी दिएको छ।

त्यस्तै, कुलमान घिसिङको समूहलाई एक जना सहमहामन्त्री र एक जना सहप्रवक्ता दिने सहमति छ।

बालेन र कुलमान समूहबाट दुई-दुई जनालाई पदाधिकारीमा सामेल गराउने भद्र सहमति भएको हो, रास्वपा स्रोतले भन्यो, सहमति अनुसार उहाँहरूबाट नाम आउन बाँकी छ।

पार्टी सभापति रवि लामिछानेले बालेन र कुलमानलाई रास्वपामा सामेल गराउन छुट्टाछुट्टै सहमतिमा हस्ताक्षर गरेका थिए।

बालेनलाई आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बनाउने गरी सहमति गरिएको छ। उज्यालो नेपाल पार्टीका संरक्षकसमेत रहेका ऊर्जामन्त्री कुलमान घिसिङलाई पनि रवि लामिछानेपछि पहिलो वरीयताको उपसभापति बनाइएको छ।

वरीयतामा कुलमानपछिका उपसभापतिमा डिपी अर्याल र स्वर्णिम वाग्ले छन्।

अहिले रास्वपामा कबिन्द्र बुर्लाकोटी एक जना महामन्त्री छन्। सहमहामन्त्री पनि विपिन आचार्य मात्र छन्।

सहप्रवक्ता भने प्रतिभा रावल र रमेश प्रसाईं छन्।