नेपाली कम्युनिस्ट पार्टी : प्रचण्डको राजनीतिक लचकता कि रिसाइकल बिन ?
समकालीन नेपाली राजनीतिका सबैभन्दा जटिल, बहुआयामिक र विवादास्पद पात्रमध्ये एक हुन्, पुष्पकमल दाहाल ‘प्रचण्ड’। उनी कुनै साधारण राजनीतिक नेता होइनन् । उनी स्वयं एक राजनीतिक प्रवृत्ति हुन् । जनयुद्धका कठोर कमाण्डरदेखि संसदीय लोकतन्त्रका चतुर खेलाडीसम्मको उनको यात्रा कुनै पाठ्यपुस्तकमा सहजै समेटिँदैन ।
जनयुद्धकालीन मानवीय क्षतिले प्रचण्ड एक निर्दयी र कठोर नेता थिए भन्ने छवि व्यापक रूपमा स्थापित गरे पनि, व्यक्तिगत रूपमा उनी अत्यन्त भावुक छन् भन्ने कुरा उनका सहकर्मीहरूबाट सुनिन्छ । भाषणमा आँसु, भेटघाटमा आत्मीयता र निर्णयमा तत्कालीन भावनाको प्रभाव देखिनु प्रचण्डको स्थायी विशेषता हो। यही भावुकता र लचकता उनको शक्ति पनि हो, कमजोरी पनि।
राजनीतिक लचकता नहुँदा विश्वका धेरै जनयुद्धहरू या त रक्तपातमै समाप्त भए, या त इतिहासका फुटनोटमा सीमित भए। त्यसको तुलनामा माओवादी जनयुद्धले आंशिक भए पनि आफ्ना उद्देश्यहरू हासिल गर्यो र एउटा ‘सफल अवतरण’ गर्न सफल भयो । यस अवतरणको मुख्य चालक प्रचण्डकै राजनीतिक लचकता थियो । तर यहाँ एउटा गम्भीर प्रश्न उठ्छ लचकता कहिलेसम्म रणनीति हुन्छ र कहिलेदेखि अवसरवादमा रूपान्तरित हुन्छ ?
आजको प्रचण्ड त्यो जनयुद्धकालीन प्रचण्ड रहेनन् । आज उनी आवश्यकता परे आफ्नै इतिहासलाई अभिलेखमा राख्नसमेत तयार देखिन्छन्। माओवादी नाम, झण्डा, निशाना, विचार र आस्था सबै त्याग्न सक्ने संकेत उनीबाट देखिन्छ। किन ? आफ्नो राजनीतिक अस्तित्व जोगाउन । यही कारणले कतिपय राजनीतिक पण्डितहरूले उनलाई ‘राजनीतिक जादूगर’ को संज्ञा दिएका छन्।
साँच्चै भन्नुपर्दा, प्रचण्डको राजनीतिमा एउटा अदृश्य जादु छ : जहाँ असम्भव देखिने गठबन्धन सम्भव हुन्छ, शत्रु मित्र बन्छ र मित्र शत्रुमा रूपान्तरित हुन्छ। यही जादुको पछिल्लो संस्करण हो “नेपाली कम्युनिस्ट पार्टी”। यो पार्टी कुनै वैचारिक प्रयोगशाला होइनः धेरैको दृष्टिमा यो एउटा ‘वृद्ध क्लब’ हो, जहाँ सफल, असफल, थाकेका र राजनीतिक किनारामा पुगेका सबै नेता अटाउँछन् । तर यसलाई केवल वृद्ध क्लब भन्नु अपूरो विश्लेषण हुन्छ। वास्तवमा, यो “प्रचण्ड ब्रान्डको रिसाइकल बिन” हो।

लेखक : नवराज बराल
यस बिनमा प्रयोग भइसकेका नेताहरू हालिन्छन्, आवश्यक परे पुनः प्रयोग गरिन्छ, आवश्यक नपरे सुरक्षित रूपमा थन्क्याइन्छ । यो राजनीतिक अपशिष्ट व्यवस्थापन हो, जहाँ कुनै पनि व्यक्ति पूर्ण रूपमा फ्याँकिन्न । केवल पुनःप्रयोग वा संचित गरिन्छ। यही नै प्रचण्डको व्यवस्थापन कौशल हो। तर अब निर्णायक प्रश्न उठ्छ—के यो रिसाइकल बिनबाट उनको र देशको नयाँ भविष्य निर्माण हुन्छ ? यसको उत्तर खोज्दा तीनवटा सम्भावित परिणाम देखिन्छन्।
प्रथम, यदि प्रचण्डले यस बिनलाई वैचारिक पुनर्निर्माणको केन्द्र बनाउन सके भने, थाकेका नेताबाट पनि नयाँ ऊर्जा निस्कन सक्छ । यसले अल्पकालीन स्थायित्व र सत्ता समीकरणलाई बल दिन सक्छ।
दोस्रो, यदि यो केवल सत्ता टिकाउने अस्थायी उपकरण मात्र बन्यो भने, यो पार्टी इतिहासको अर्को असफल प्रयोग बन्नेछ । जहाँ विचार होइन, केवल व्यक्तित्व मात्र बाँकी रहनेछ।
तेस्रो र सम्भवतः सबैभन्दा यथार्थपरक परिणाम, यो प्रयोगले प्रचण्डलाई केही समय थप राजनीतिक जीवन त दिनेछ । तर नेपाली कम्युनिस्ट आन्दोलनलाई दीर्घकालीन दिशाहीनतामा धकेल्ने जोखिम पनि उत्तिकै रहनेछ।
अन्ततः, प्रचण्ड न त पूर्ण नायक हुन्, किनकि नेतृत्वमा पुगेपछि पनि जनयुद्धले जन्माएका पीडित, न्याय र रूपान्तरणका मूल प्रश्नहरूलाई उनले संस्थागत निष्कर्षमा पुर्याउन सकेनन् । न त उनी पूर्ण खलनायक नै हुन्, किनकि उनले जनयुद्धलाई अन्त्य गरी त्यसलाई शान्ति प्रक्रिया र संसदीय लोकतन्त्रको ढाँचामा रूपान्तरण गर्ने ऐतिहासिक निर्णय लिए । त्यसैले प्रचण्ड लचकताको चरम प्रयोग हुन्– जहाँ सिद्धान्त साधन बन्छ र साधन नै सिद्धान्त।