राजपुर नगरपालिकामा स्वचालित साइरन : विपद्को पूर्वसूचना अब छिटो पाइने

शुक्रबार, १८ पौस २०८२

काठमाडौं—रौतहटको राजपुर नगरपालिकाले विपद् जोखिम न्यूनीकरणका लागि आफ्नो प्रशासकीय भवनमा आधुनिक स्वचालित साइरन सेट जडान गरेको छ ।

रेन परियोजनाको सहयोगमा स्थापित यो प्रणालीले बाढी, आगलागी र चट्याङ जस्ता आपतकालीन अवस्थामा नगरवासीलाई समयमै सचेत गराउनेछ । बाढी, आगलागी, जनावरको आक्रमण, र चट्याङकालागि छुट्टाछुट्टै आवाज (साइरन कोड) निर्धारण गरिएको छ ।

नगरपालिकाले मेसेज बक्स,फोन डायल वा एस.एम.एस. मार्फत तत्कालै साइरन सक्रिय गर्न सक्ने प्रविधि मिलाएको छ । ‘एक नम्बर, एक आवाज-सयौंको सुरक्षा’भन्ने नाराका साथ आकस्मिक सूचनाप्रवाह गरी धनजनको क्षतिकम गर्ने लक्ष्य राखिएको छ । प्रमुखप्रशासकीय अधिकृत बैजु ठाकुरका अनुसार, रेन परियोजनाको सहयोगमा जडान गरिएको यस प्रणालीबारे नागरिकलाई बुझाउन र नियमित परीक्षण गर्न नगरपालिका प्रतिबद्ध छ ।

नगर प्रमुख डा. राजिक आलमले राजपुर नगरपालिकाविपद्को दृष्टिकोणले जोखिमयुक्त क्षेत्र भएकाले यो प्रणाली जीवन बचाउन प्रभावकारी हुने बताए । आधुनिक स्वचालित साइरन सेट जडान गरेपछि विपद् जोखिमन्यूनीकरण हुने पालिकाको अपेक्षा छ ।