विदेशीले रवि, बालेन र कुलमानलाई मिलाएपछि नेपालका कम्युनिटहरु मिल्न थाले

शुक्रबार, १८ पौस २०८२

काठमाडौं—हर्कको भाषामा विदेशीले रवि, बालेन र कुलमानलाई मिलाएपछि नेपालका कम्युनिटहरु मिल्न थालेका छन् ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, नेकपा माओवादी, जनमोर्चा लगायतले कम्युनिस्ट जनमतको रक्षाका लागि छलफल चलाएका छन् ।

निर्वाचनको माध्यमबाट नेपालमा कम्युनिस्ट पार्टीलाई घेराबन्दी गर्ने, कमजोर बनाउने र सखाप पार्ने हिसाबले षड्यन्त्र भइरहेको निष्कर्ष निकाल्दै विप्लव नेतृत्वको माओवादीले मनोनयन दर्ता गर्ने समय अगाडि नै ‘ब्रेक थ्रु’ हुने गरी बृहत छलफल चलाएको छ ।

कात्तिक १९ गते तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १० घटक मिलेर नेकपा बनेपछि विप्लव नेतृत्वको साबिक नेपाल कम्युनिस्ट पार्टी एकता प्रक्रियाबाट बाहिरिएको थियो । त्यसपछि निर्वाचन आयोगमा दल दर्ता गर्ने समयमा विप्लवले नाम परिवर्तन गरी जनयुद्धकालीन नाम माओवादी राखेका थिए ।

नेकपा माओवादीसँग एकता, सहकार्य गर्ने विषयमा छलफल एकदम सकारात्मक रूपमा अगाडि बढेको छ । केही दिनदेखि हामी लगातार छलफलमै छौँ’, स्रोतले भन्यो, ‘कम्युनिस्ट पार्टीलाई कमजोर बनाउन चौतर्फी घेराबन्दी भइरहेको छ ।

समय र वस्तुनिष्ठ आवश्यकताले पनि सबै वामपन्थी, समाजवादी र कम्युनिस्ट घटकहरू एक ठाउँमा आउनुपर्ने बाध्यता छ । केही दिनमै सकारात्मक परिणाम निस्कनेछ ।’

समानुपातिक बन्दसूची मिलाउनका लागि माओवादीका महासचिव विप्लव लगायत शीर्ष नेताहरू अहिले काठमाडौँमै रहेका छन् । माओवादीबाट विप्लव आफै वार्तामा अग्रसर रहेका छन् ।

नेकपाबाट संयोजक पुष्पकमल दाहाल प्रचण्डका विश्वास पात्र खटिएको बुझिएको छ ।

केही दिन अगाडि विप्लव र नेकपाका नेता कृष्णबहादुर महराबिच खुमलटारमा छलफल भएको थियो ।

महराकै पहलमा विप्लव २०७९ सालमा समाजवादी मोर्चामा सहभागी भएका थिए । तत्कालीन माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सहमति नजिक पुगेर पनि प्रचण्डकै कारण सफल नभएको विप्लवले आरोप लगाएका थिए ।

मोर्चाका संयोजक समेत रहेका विप्लवले नेकपा गठन भएपछि अलग भएका थिए । तर, उनका सचिवालयले गुरु र चेलाको हिसाबले महरासँग भेटघाट हुनु स्वाभाविक भएको बताएको छ ।

‘केही दिनअघि हाम्रा महासचिव महरा सरसँग उहाँकै निवासमा भेट भएको हो ।

तर पार्टी एकताको विषयमा छलफल भएको छैन । देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूले नेपालमा कम्युनिस्टलाई समाप्त पार्न विभिन्न षड्यन्त्र गरिरहेका छन् । यस्तो अवस्थामा सम्पूर्ण वामपन्थी र कम्युनिस्ट घटकबिच सहकार्य र मोर्चाबन्दी बनाएर जाऊँ भन्नेबारे कुरा भएको छ । एउटै कम्युनिस्ट केन्द्र बनाएर जाने विषयमा हाम्रो विमति छैन’, विप्लवको सचिवालयले भन्यो ।

माओवादीका स्थायी समिति सदस्य सन्तोष बुढामगरले चुनावी तालमेल, सहकार्य र एकताको विषयमा नेकपाका नेताहरूसँग छलफल भएको स्विकारेका छन् । यद्यपि छलफल कुनै निष्कर्षमा नपुगेको उनले बताए ।

‘हामी सबै वामपन्थी र कम्युनिस्ट घटक एक भएर जाने पक्षमा छौँ । सकेसम्म आगामी निर्वाचनमा सहकार्य र तालमेल गरेर जानेबारे छलफल भइरहेको छ । सहमत नभएमा हामी आफ्नै हिसाबले अगाडि बढ्छौँ’, उनले भने ।

पुस १३ गते नेकपाका संयोजक प्रचण्डले केन्द्रीय कार्यालय पेरिसडाँडामा दुई तीनवटा दलसँग पार्टी एकताका लागि कम्मर कसेर लागेको बताएका थिए । भोलिपल्ट रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीसँग पार्टी एकता सहमतिमा हस्ताक्षर भएको थियो ।

राजनीतिक दलहरूले निर्वाचन आयोगमा पेस गरेको समानुपातिक बन्दसूची संशोधन गर्नका लागि पुस २१ देखि २७ गतेसम्म समय दिएको छ । यस अवधिमा सकेसम्म एकता गर्ने वा नसकिए निर्वाचनमा सहकार्य गरेर मात्रै जाने विषयमा छलफल केन्द्रित रहेको बुझिएको छ ।

प्रत्यक्षतर्फ उम्मेदवारी दिने समय आयोगले माघ ६ गते तोकेको छ । कालीकोटबाट नेकपाले प्रचण्डको एकल नाम सिफारिस गरेर पठाउनुको उद्देश्य पनि दुई पार्टीबिच सहमति भएमा चुनावी तालमेल गर्न सकिने गरी होल्ड गरिएको चर्चा चलेको छ ।

कालिकोट माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माको जिल्ला हो । कर्णालीका पूर्वमुख्यमन्त्री तथा नेकपाका नेता महेन्द्रबहादुर शाहीले विप्लव एकता प्रक्रियामा आए आफू त्याग गर्न तयार भएको बताएका थिए ।