निर्वाचन नजिकिएकोले संस्थापन पक्षको प्रस्ताव स्वीकारेको हुँ : शेखर कोइराला

शनिबार, १९ पौस २०८२

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले समय अभावको कारण निर्वाचन पछि महाधिवेशन गर्नुपर्ने संस्थापन पक्षको प्रस्ताव अस्वीकार गर्न नसकिएको बताएका छन् । आज आफू पक्षका नेताहरूसँगको छलफलको क्रममा उनले वैशाखमा महाधिवेशन गर्ने कार्यवाहक सभापति पूर्णबहादुर खड्काको प्रस्तावको बचाउ गर्दै यस्तो बताएका हुन् ।

आफू महाधिवेशन पछि सार्ने पक्षमा नभए पनि समय अभावका कारण निर्वाचनअघि महाधिवेशन गर्ने सम्भव नदेखेको उनको भनाइ थियो । कोइरालाले कार्यसम्पादन समितिको बैठकमा आफूले महाधिवेशन र निर्वाचनको काम सँगसँगै अघि लानुपर्ने प्रस्ताव राखे पनि अधिकांश नेताले समय अभावका कारण त्यो सम्भव नरहेको बताएपछि खड्काको प्रस्तावमा सहमति जनाएको बताएका थिए ।

संस्थापन पक्षको प्रस्ताव विपरीत महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुसभित्र विशेष महाधिवेशन गर्ने अडान लिएपछि कोइरालाले आफू निकट नेताहरूसँग छलफल गरेका हुन् । छलफलमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेताहरू बलबहादुर केसी मिनेन्द्र रिजाल, सञ्जय गौतम, डा गोविन्द पोखरेल, सरिता प्रसाईँसहित ४० भन्दा बढी केन्द्रीय सदस्य सहभागी थिए ।

छलफलमा सहभागी अधिकांश नेताहरू विशेष महाधिवेशनको विपक्षमा उभिएको केन्द्रीय सदस्य डा गोविन्द पोखरेलले जानकारी दिए । शुक्रबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले वैशाख २८ गतेदेखि पार्टी महाधिवेशन गर्ने प्रस्ताव बहुमतले पारित भएको थियो उक्त प्रस्तावमा महामन्त्रीद्वय थापा र शर्मासहित सहमहामन्त्री फरमुल्लाह मन्सुर तथा कार्यसम्पादन समिति सदस्यद्वय अर्जुननरसिंह केसी र उमा रेग्मीले फरक मत राखेका थिए ।