राजधानीमा कोठा नपाउने, गाउँमा हेपिने : कहिलेसम्म सहने जातीय विभेद ?
कैलाली – कैलालीको टीकापुरमा ‘परियार समाज सशक्तीकरण मञ्च’ को तेस्रो साधारण सभा तथा चुनावी अधिवेशन सुरु भएको छ। ‘सबै क्षेत्र, धर्म, पेशा र आस्थाको सम्मान : सामाजिक न्यायका लागि रूपान्तरणकारी अभियान’ भन्ने मूल नाराका साथ आयोजित सभामा वक्ताहरूले समाजमा अझै पनि विद्यमान जातीय विभेदको कडा प्रतिवाद गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका टिकापुर नगरपालिका मेयर रामलाल डकौरा थारुले मन्तव्य राख्दै विभेद विरुद्धको अभियानलाई अझै व्यापक बनाउनुपर्ने बताए । उनले भने, ‘७७ वटै जिल्लाका दलित र विशेषगरी तराईका थारु तथा अन्य उत्पीडित समुदाय अब एक भएर जानुपर्ने समय आएको छ। हाम्रो साझा एकताले मात्रै राज्यको हरेक निकायमा सम्मानजनक उपस्थिति र सामाजिक न्याय सुनिश्चित गर्न सक्छ।’

सभाका अध्यक्ष लोक बहादुर नेपालीले दलित समुदायको एकजुटतामा रोकावट पुर्याउने तत्वहरूको पहिचान गरी तिनीहरूलाई पन्छाउनुपर्नेमा जोड दिए । उनले भने, ‘नेपालमा रहेका ६० लाख दलितहरू अब एक हुनुपर्छ। हामीभित्रैको विभाजनले हामीलाई कमजोर बनाएको छ, त्यसैले अब सम्पूर्ण दलित शक्तिलाई एकीकृत गरी आफ्ना साझा एजेन्डा र अधिकारका लागि सशक्त रूपमा अगाडि बढ्नुपर्छ।’
उक्त विशेष समारोहको सञ्चालन संस्थाका सचिव प्रेम सिंह परियारले गरेका थिए । उद्घाटन सत्र पश्चात् नयाँ नेतृत्व चयनका लागि बन्द सत्र सुरु भएको छ। कार्यक्रममा टीकापुर नगरपालिका कार्य पालिका सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, संघ–संस्थाका प्रमुखहरू तथा स्थानीय जनसमुदायको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने दलित समुदायका व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो ।
