ट्रम्पलाई चीनको कडा चेतावनी ‘भेनेजुएलाका राष्ट्रपति मदुरो दम्पती तुरून्त रिहा गर’

आइतबार, २० पौस २०८२

काठमाडौं— चीनले अमेरिकालाई भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई तुरुन्त रिहा गर्न कडा आग्रह गरेको छ।

आइतबार चीनको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै अमेरिकाले बलपूर्वक राष्ट्रपति दम्पतीलाई पक्राउ गरी अमेरिका लगेको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको हो।

चीनको विदेश मन्त्रालयले अमेरिकाको कदमलाई अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यताको उल्लंघन भएको टिप्पणी गरेको छ।

विज्ञप्तिमा भनिएको छ ‘चीन अमेरिकालाई राष्ट्रपति मदुरो र उनकी श्रीमतीको व्यक्तिगत सुरक्षा सुनिश्चित गर्न, उनीहरूलाई तुरुन्त रिहा गर्न, भेनेजुएलाको शासन उल्ट्याउने प्रयास रोक्न र संवाद तथा वार्ताबाट समस्या समाधान गर्न आग्रह गर्दछ।’

अमेरिकी सेनाले जनवरी २ को राति भेनेजुएलामा सैन्य आक्रमण गर्दै राष्ट्रपति मदुरो र उनकी पत्नीलाई अपहरण शैलीमा पक्राउ गरी अमेरिका लगेको बताइएको छ।

हाल उनीहरूलाई न्युयोर्कस्थित हिरासत केन्द्रमा राखिएको जनाइएको छ। अमेरिकाले मदुरोविरुद्ध हतियार र लागुऔषध तस्करीसम्बन्धी मुद्दा चलाउने तयारी गरिरहेको छ।

यसैबीच भेनेजुएलामा उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति नियुक्त गरिएको छ।

भेनेजुएलाको सर्वोच्च अदालतको आदेशअनुसार डेल्सीले पदभार ग्रहण गर्न लागेको सरकारी स्रोतले जनाएको छ।

अमेरिकाको सैन्य हस्तक्षेप र चीनको कडा प्रतिक्रियापछि भेनेजुएला मुद्दा अन्तर्राष्ट्रिय शक्ति संघर्षको केन्द्रमा पुगेको विश्लेषकहरू बताउँछन्।