रास्वापाको वरिष्ठ उपसभापति बनेका कुलमान घिसिङलाई झड्का

आइतबार, २० पौस २०८२

काठमाडौं—केहीदिन अघिमात्र रास्वापाको वरिष्ठ उपसभापति बनेका कुलमान घिसिङलाई झड्का लागेको छ।

नागरिक सरकारको महत्वपूर्ण मन्त्रालयमा बसेर खुलेआम राजनीतिक दलको गतिविधिमा संलग्न भएको भन्दै जेनजीहरुले कुलमानलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् ।

जेनजी मुभमेन्ट, नेपालले आइतबार विज्ञप्ति जारी गर्दै सुशीला कार्की नेतृत्वको सरकारका ऊर्जामन्त्री कुलमान घिसिङ र प्रधानमन्त्रीका सल्लाहकार गोविन्द नारायणलाई तत्काल बर्खास्त गर्न माग गरेको हो ।

आफूलाई नागरिक र दलनिरपेक्ष सरकारका रूपमा प्रस्तुत गर्ने सरकारले आफ्नै पदाधिकारीलाई खुला रूपमा पार्टी गतिविधिमा संलग्न हुन दिएको तथ्यले यो सरकार वास्तवमा कसको हो भन्ने प्रश्न नेपाली जनतामाझ गहिरिँदै जेनजी मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

मुभमेन्टल्ले नागरिक सरकारको नाममा सत्ता कब्जा गर्ने, पदको दुरुपयोग गर्ने र भ्रष्टाचारलाई संरक्षण दिने कार्य अब सह्य नहुने भन्दै कुलमान घिसिङ र गोविन्द नारायणलाई तुरुन्त बर्खास्त नगरिए अझ सशक्त, संगठित र निर्णायक जनप्रतिरोध गर्ने चेतावनी दिएको छ।