सभापति देउवालाई कार्यकर्ताको खुलापत्र : कांग्रेसलाई सम्भावित दुर्घटनाबाट बचाउनुहोस्
आदरणीय सभापति ज्यू,
नेपाली कांग्रेस।
सादर प्रणाम।
यो पत्र कुनै व्यक्तिगत गुनासो वा आग्रहभन्दा धेरै माथि उठेर, एक जिम्मेवार कांग्रेस कार्यकर्ता, शुभचिन्तक र सचेत नागरिकको हैसियतले सार्वजनिक रूपमा लेखिएको खुला अनुरोध हो।
जेन–जी आन्दोलनपछिको नयाँ राजनीतिक तरंगले देशलाई गहिरो रूपमा आक्रान्त बनाएको छ। यो आन्दोलन केवल असन्तोषको अभिव्यक्ति मात्र होइनः यसले नेपाली राजनीतिमा नयाँ चेतना, नयाँ अपेक्षा र गहिरा प्रश्नहरू अघि सारेको छ। परम्परागत राजनीतिक सोच र कार्यशैलीमाथि गम्भीर चुनौती खडा भएको यस घडीमा मुलुकको राजनीति अत्यन्तै तरल, अस्थिर र निर्णायक मोडमा पुगेको छ।
यही आन्दोलनका क्रममा तपाईंमाथि भएको सांकेतिक हमला केवल एक व्यक्तिमाथिको प्रहार मात्र थिएन, त्यो लोकतान्त्रिक संस्कार, राजनीतिक मर्यादा र संस्थागत नेतृत्वमाथिको चोट थियो। उक्त दृश्यले हामीजस्ता हजारौँ कांग्रेसजनलाई गहिरो पीडा दियो। तर त्यही क्षण, विषम परिस्थिति, अव्यवस्थित वातावरण र समग्र राजनीतिक अन्योलका कारण, म आफूसहित आम कार्यकर्ता चाहेर पनि केही गर्न नसकी हेरेर मात्र बस्न विवश भयौँ। त्यो विवशता आज पनि धेरैको मनमा एक भारी बोझ बनेर बसेको छ।
यसै सन्दर्भमा, जेन–जी आन्दोलनका क्रममा तपाईंले भोग्नु परेको व्यक्तिगत पीडाका बाबजुद पनि आन्दोलनप्रति देखाउनुभएको सदासयता, तथा उपाध्यक्ष पूर्णबहादुर खड्कालाई कार्यबाहक जिम्मेवारी दिएर सक्रिय राजनीतिबाट विश्राम लिने संकेतजस्ता कदमहरू अत्यन्त अनुकरणीय, प्रशंसनीय र तार्किक रूपमा परिपक्व थिए। यसले तपाईंको अभिभावकीय नेतृत्व, लोकतान्त्रिक चेतना र पार्टीप्रतिको समर्पणलाई स्पष्ट रूपमा प्रमाणित गरेको छ।
आदरणीय
सभापति ज्यू,
तपाईंको सुस्वास्थ्य, दीर्घायु र मानसिक दृढताको हार्दिक कामना गर्दछु। आज नेपाली कांग्रेसलाई मात्र होइन, समग्र लोकतान्त्रिक राजनीतिलाई नै तपाईंको स्वस्थ, सन्तुलित र जिम्मेवार नेतृत्वको आवश्यकता छ। तर यही संवेदनशील घडीमा पार्टीभित्र विशेष महाधिवेशनको माग झन् पेचिलो बन्दै गएको छ। निर्वाचनको संघारमा उभिएको कांग्रेस यदि अन्योल, मौनता र गुट–उपगुटको घेराबन्दीमै अल्झिरह्यो भने, पार्टीले गम्भीर राजनीतिक दुर्घटना भोग्नुपर्ने खतरा प्रस्ट देखिन्छ।
यदि हजुरको मनमा कसैप्रति कुनै मनमैला, असन्तुष्टि वा गुनासो बाँकी छन् भने, ती सबैलाई क्षमादान दिनुहोस् भन्ने यो खुला र विनम्र अनुरोध हो। राजनीति केवल प्रतिस्पर्धा र हिसाबकिताबको खेल होइन । यो उदारता, क्षमा र ठूलो हृदयको पनि परीक्षा हो। आज कांग्रेसलाई गुटको विजय होइन, क्षमाबाट जन्मिने एकताको खाँचो छ।
यसैले सबैभन्दा विनम्र तर दृढ आग्रह— सक्नुहुन्छ भने विशेष महाधिवेशनमार्फत पार्टीलाई निकास दिनुहोस्, किनकि यो आजको समयको स्पष्ट माग हो। यदि त्यो सम्भव छैन भने, कुनै अन्य उपयुक्त उपायमार्फत सबै पक्षलाई समेट्ने, सबैका लागि win–win हुने अवस्थाको निकास निकालिदिनुहोस्। इतिहासले निकासको विधि होइन, नेतृत्वको नीयत, साहस र समेट्ने क्षमतालाई मूल्याङ्कन गर्छ।
इतिहास साक्षी छ : बीपी कोइरालाले समाजवाद, राष्ट्रियता र लोकतान्त्रिक चेतनाको वैचारिक खाका दिएm सुवर्ण शमशेर र गणेशमान सिंहले त्याग, निष्ठा र सिद्धान्तको राजनीति स्थापित गरे, किसुनजी (कृष्णप्रसाद भट्टराई) ले सरलता र निष्ठाको राजनीतिको पाठ सिकाए र गिरिजाप्रसाद कोइरालाले अनेक चुनौतीका बीच देशलाई गणतन्त्रको युगमा प्रवेश गराए। आज इतिहासले तपाईंलाई पनि त्यस्तै निर्णायक मोडमा उभ्याएको छ। देश र पार्टीका लागि केही गरेर जाने अवसर तपाईंको हातमै छ भन्ने हाम्रो दृढ विश्वास छ, किनकि इतिहास पदमा बसेकाहरूलाई होइन, समयले दिएको अवसरलाई साहस, निर्णय र अभिभावकीय नेतृत्वका साथ उपयोग गर्ने नेताहरूलाई मात्र सम्मान गर्छ । निर्णयबाट पन्छिने नेतृत्वलाई भने मौन तर कठोर रूपमा मूल्याङ्कन गर्छ।
इतिहासले कहिलेकाहीँ कठोर निर्णयभन्दा बढी अभिभावकीय साहस खोज्दोरहेछ। आज कांग्रेसलाई पनि त्यही अभिभावक चाहिएको छ—जो भिस्मपितामहझैँ टुलुटुलु हेरेर बस्ने होइन, बरु समयको महाभारतमा उभिएर धर्म, दायित्व र एकताको पक्षमा दृढतापूर्वक उभिन सकोस्। आज हजारौँ कार्यकर्ता र शुभचिन्तकहरूको मन भारी छ, अनुहार ओइलिएको छ। तर उनीहरू अझै पनि कांग्रेसप्रति आशा राखेर बसेका छन्। त्यो आशालाई निराशामा बदलिन नदिनु, उनीहरूको मुहार फेरि हसिलो बनाउन तपाईंको निर्णायक हस्तक्षेप अब टार्न नसकिने ऐतिहासिक आवश्यकता बनिसकेको छ। कांग्रेस केवल एउटा पार्टी होइन—यो देशको लोकतान्त्रिक चेतनाको इतिहास हो। त्यसको छवि जोगाइराख्नु, त्यसको भरोसा कायम राख्नु आज तपाईंको काँधमा आएको ऐतिहासिक जिम्मेवारी हो।
एक व्यथित तर आशावादी कांग्रेसजनको हैसियतले, हृदयदेखि नै यो खुला आग्रह गर्दछु—कृपया समयमै निर्णय लिनुहोस्, नेतृत्व देखाउनुहोस् र नेपाली कांग्रेसलाई सम्भावित दुर्घटनाबाट बचाउनुहोस्।
सधैं कांग्रेसको पक्षमा,
आशा, सम्मान र सद्भावसहित।
भवदीय, ।