दुबईमा ‘गोल्ड विनर’ इन्जिनियर प्रकाश नकर्मीको संघर्ष र सफलता
कीर्तिपुर जन्मथलो भएका वरिष्ठ इन्जिनियर प्रकाश नकर्मीले २४ वर्षको युवा उमेरमै वैदेशिक रोजगारको सिलसिलामा दुबईमा पाइला टेके । ५०औं वसन्त पार गरिसकेका उनी त्यो समय दुबई गएका थिए, जुन समय नेपालीहरु एकदम कम मात्र जाने गर्दथे । अझ कतिपय नेपालीलाई दुबईको बारेमा खासै जानकारी नै थिएन । दुबईमा त्यो बेला नेपाली भन्नेवितिकै क्लिनर र गार्डको रुपमा मात्र चिनिन्थे । दुबईमा नेपाली कि गार्ड वा क्लिनर नै हुनुपर्छ भन्ने पेशागत मान्यतालाई चिर्दै प्रकाश नकर्मी जानेवितिकै सुपरभाइजर भएका थिए ।
ढोकामा बसेर सलाम गर्नुपर्ने नेपाली, सुपरभाइजर भएको कतिपय भारतीय उनी भन्दा उपल्ला कर्मचारीहरुलाई मन परेको थिएन । यसैकारण उनलाई त्यो बेला दिनुसम्म दुःख दिए । अपमानलाई घुटक्क निल्दै, उनी कति पनि विचलित भएनन् । आफ्नो संघर्षमा अडिग रहे । उनीहरु आतिनुको कारण प्रकाश नकर्मी एक युवा, शिक्षित र मेहनती नेपाली थिए । उनले ८ वर्षसम्म भारतीयहरुको मातहतमा रहेर काम गर्नु पर्दा कैयन अवरोधहरु सामना गर्नुपर्यो । कर्म गर्दै गयो र अन्तमा उनको कर्मले उनलाई भुक्तानी गर्न थाल्यो ।
दुबईको ५० डिग्री तापक्रममा तताएको निधारमा भाग्य फल्यो । उनी सुपरभाइजरबाट फोरमेन, सहायक व्यवस्थापक, मर्मत शाखाको प्रमुख, प्रमुख इन्जिनियर, इन्जिनियरिङ विभाग प्रमुख हुँदै हाल उनी कम्पनी समूहका लागि क्लस्टर इन्जिनियरिङ निर्देशक भएका छन् । रोचक कुरा जसलाई सुरुमा दुबई पुग्दा उनले सर भन्नुपर्यो, ३, ४ वर्षपछि उनीहरुले उनलाई सर भन्नुपर्ने अवस्था आयो । दुबईमा नाटकीय शैलीको उनको यो प्रगति हरेक नेपालीहरुको लागि अनुकरणीय छ ।

हाल उनी र्याडिसन ब्लु देइरा क्रिक, नोभोटेल दुबई गोल्ड डिस्ट्रिक्ट, अडाजियो अपार्ट होटेल दुबई देइरा, मक्र्योर दुबई गोल्ड डिस्ट्रिक्ट, मक्र्योर दुबई देइरा, आइबिस स्टाइल्स दुबई गोल्ड डिस्ट्रिक्ट र आइबिस स्टाइल्स दुबई देइरा लगायत सात होटेलका इन्जिनियरिङ विभाग प्रमुख छन् । यसमा ५,४ र ३ स्टारका होटेलहरु पर्दछन् । यति मात्र होइन, उनको उपलब्धिको कुरा गर्ने हो भने उनी सन २०२४ मा होटेलहरुको ‘इन्जिनियर च्याम्पियन अफ द इयर’ घोषित हुँदै ‘गोल्ड विनर’ भएका थिए । यो दुबईमा वैदेशिक रोजगारमा जाने नेपालीहरुले अहिलेसम्म पाएको एक प्रमुख उपलब्धि हो ।
समाजसेवा गरेर पनि खासै चर्चामा आउन नचाहने समाजसेवी प्रकाश नकर्मीले जीवनमा धेरै परोपकारी काम गरेका छन् । दुबईमा कोही पनि नेपालीको पीडा देख्न नसक्ने प्रकाश नकर्मीले दुबइमा अलपत्र परेका धेरै नेपालीलाई रोजगारी दिलाएका छन् । उनका माइला भाइ विकास नकर्मी, चीनको प्रतिष्ठित ‘नान्जिङ विश्वबिद्यालय’को प्राध्यापक हुँदै, उड्ने कार निर्माण कम्पनीको उच्च व्यवस्थापनमा छन् भने कान्छो भाइ उकास अमेरिकामा प्राध्यापन पेसामा छन् । यसरी तीनै नकर्मी दाजुभाइले संसारका तीन प्रतिष्ठित देशमा गएर पाएको उपलब्धि कीर्तिपुरको लागि मात्र होइन, नेपालकै लागि गर्वको विषय हो ।