स्टार्टअप क्षेत्रमा महिलाका अवसर र चुनौती सम्बोधन गर्न सबैको साझा प्रयास आवश्यक : मन्त्री सिन्हा
काठमाडौं — उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले स्टार्टअप क्षेत्रमा महिलाका लागि बढ्दो अवसरसँगै विद्यमान चुनौतीलाई सम्बोधन गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताएका छन् ।
नीति रिर्सच प्रालिको आयोजना एवम औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सहकार्यमा ‘स्टार्टअपमा महिला अवसर, चुनौती र आगामी बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले पछिल्लो समय स्टार्टअप क्षेत्रमा महिलाका लागि नयाँ–नयाँ अवसरहरू खुलेको उल्लेख गरे ।
उनले कृषि, पर्यटन सेवा तथा सिर्जनात्मक उद्योगजस्ता क्षेत्रमा महिलाले आफ्नो सीप, ज्ञान र सोचलाई व्यवसायमा रूपान्तरण गरिरहेको अवस्था स्पष्ट रूपमा देखिएको बताए।
उनले भने, ‘आज स्टार्टअप क्षेत्रमा महिलाका लागि नयाँ नयाँ अवसरहरु खुलेका छन् । कृषि तथा पर्यटन सेवा र सिर्जनात्मक उद्योग जस्ता क्षेत्रमा महिलाले आफ्नो सीप, ज्ञान र सोचलाई व्यवसायमा रुपान्तरण गरिरहेको हाम्रो अगाडि स्पष्ट छ । मोबाइल फोन, ईन्टरनेट र आत्मविश्वासले महिलाहरुलाई स्थानिय बजारबाट विश्व बजारसम्म पुर्याउन सकेको पनि थुप्रै उदाहरणहरु छन् ।’
तर अवसरसँगै चुनौती पनि महिलाको साथमै रहेको उनले बताए । ‘चुनौती व्यवसायमा मात्र होइन, शारीरिक रूपमा पनि चुनौती भोग्दै आएका हामी कतिपय छौं,’ उनले भने ।
आज पनि धेरै महिला उद्यमीहरू वित्तीय पहुँचको अभाव, सामाजिक सोच, पारिवारिक जिम्मेवारी तथा नीतिगत जटिलतासँग जुधिरहेको उनको भनाइ थियो ।
यी चुनौती महिलाको क्षमता कमजोर भएर नभई प्रणाली र संरचनामा रहेको कमजोरीका कारण उत्पन्न भएको मन्त्री सिन्हाको धारणा छ । उनले यस्ता समस्याहरू समाधान गर्न राज्य, निजी क्षेत्र, वित्तीय संस्था र समाज सबैको साझा दायित्व भएको बताए ।
उनले भने, ‘अवसरको साथसाथै चुनौतीहरु पनि हाम्रो साथसाथै छ । चुनौती व्यवसायमा मात्रै होइन, शारीरिक रुपमा पनि चुनौतीलाई भोग्दै आएका हामी कतिपय छौं । आज पनि धेरै उद्यमीमहिलाहरु वित्तिय पहुँचको अभाव, सामाजिक सोच र पारिवारिक जिम्मेवारी र नीतिगत जटिलतासँग जुधिरहेका छन् । यी चुनौतीहरु महिलाको क्षमता कमजोर भएर होइन, प्रणाली र संरचनामा रहेको कमजोरीका कारण हो भन्ने मलाई लाग्छ । त्यसैले यी समस्याहरु समाधान गर्न राज्य, निजी क्षेत्र, वित्तिय संस्था र समाज सबैको साझा दायित्यव हो ।’
कार्यक्रममा मन्त्री सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले महिला उद्यमशीलताको प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राखेर अघि बढिरहेको पनि जानकारी गराए । उनले नीतिगत सुधार, सहजीकरण र अवसर विस्तारमार्फत महिला उद्यमीलाई थप सशक्त बनाउने दिशामा सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।