अर्काको घरमा छिरेर महिलामाथि हातपात गर्ने वडाध्यक्ष प्रहरी खोरमा
काठमाडौं—अर्काको घरमा छिरेर महिलामाथि हातपात गर्ने वडाध्यक्ष प्रहरी खोरमा पुगेका छन् ।
खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ का वडाध्यक्ष लिलाकुमार चौहानले मादक पदार्थ सेवन गरेर अर्काको श्रीमतीलाई लछारपछार तथा कुटपिट गरेपछि स्थानीयले प्रहरीमा बुझाएका छन् ।
खत्रीकी श्रीमती उमा खत्रीलाई घरभित्र प्रवेश गरी लछारपछार तथा कुटपिट गरेपछि स्थानीयले नियन्त्रणमा लिएर राति नै जिल्ला प्रहरी कार्यालयमा बुझाएको उमा खत्रीले सुनाएकी छन् ।
लात्तीले ढोका हान्दै भित्र प्रवेश गरेको र भित्र प्रवेश गरेपछि उमाले गुहार भन्दा आफूमाथि लछारपछार र हेलमेटले हानेको बताइन् ।
छिमेकी राजन सैंजूका अनुसार चौहान पूर्वाधार विकास कार्यालयका कर्मचारी एक्सन दाहाललाई खोज्दै खत्रीको घरमा तोडफोड गर्दै प्रवेश गरेका हुन् ।
दाहालसँगै एउटै मोटरसाइकलमा आएका चौहानले सुरुमा दाहाललाई हातपात गरेको र त्यसपछि दाहाल घरभित्र पसेपछि उनलाई खोज्दै जथाभावी तोडफोड गर्दै खत्रीको घरमा प्रवेश गरेको सैंजूले सुनाए ।
चौहानले महिलामाथि कुटपिट गर्नुका साथै टोलमा अशान्ति मच्चाएपछि प्रहरीलाई खबर गर्दा घटनास्थलमा प्रहरी नआएपछि प्रहरी कार्यालयमै लगेर बुझाएको सैंजूको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले वडाध्यक्ष चौहान मादक पदार्थ सेवन गरेको अवस्थामा स्थानीयले लिएर आएको र अहिले दुवै पक्षको छलफल भइरहेको बताएका छन् । ‘राति वडाध्यक्ष चौहानलाई लिएर आउनु भएको थियो, राति पनि ११ बजेसम्म दुवै पक्षबीच छलफल भएको थियो, अहिले पनि छलफल भइरहेको छ,’बुढाथोकीले भने ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले घटनाको छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने बताएका छन् । ‘घटनाप्रति छानबिन हुनुपर्छ, यदि दोषी ठहरियो भने मर्यादालाई भुलेर यस्तो घटना घटाइएकोमा कारबाही हुनुपर्छ,’भट्टराईले भने ।
जिल्ला प्रहरी कार्यालय खोटाङले चौहानमाथि अनुसन्धान गरिरहेको छ ।