कैलालीमा समाजवादी युवा जागरण अभियान सम्पन्न : अमेरिकी हस्तक्षेप र असमान सन्धि-सम्झौताको विरोध
काठमाडौं—नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रीय समितिको आयोजनामा सञ्चालित ‘समाजवादी युवा जागरण अभियान २०८१’ को सुदूरपश्चिम चरणका कार्यक्रमहरू आज टीकापुरमा एक विशेष अन्तर्क्रियाका साथ भव्य रूपमा सम्पन्न भएका छन्।
हिजो सुदूरपश्चिमको मुकाम धनगढीबाट सुरु भएको बाइक र्याली र कोणसभा लम्की हुँदै आज टीकापुर पुगेर समापन भएको हो।
विश्व राजनीति र अमेरिकी हस्तक्षेपमाथि घनीभूत बहस गर्दै टीकापुरस्थित सिटि इन होटलमा आयोजित अन्तर्क्रिया कार्यक्रममा वर्तमान विश्व राजनीतिको परिदृश्य, नेपालमा बढ्दो अमेरिकी हस्तक्षेप र राष्ट्रघाती मानिएका विभिन्न सन्धि-सम्झौता खारेजीको विषयले मुख्य प्राथमिकता पाएको छ।
कार्यक्रममा उपस्थित बुद्धिजीवीहरूले नेपालको सार्वभौमसत्ता र स्वाधीनताका लागि साम्राज्यवादी शक्तिहरूका स्वार्थपूर्ण सन्धिहरू बाधक रहेको भन्दै गम्भीर प्रश्नहरू उठाएका थिए। उक्त जिज्ञासा र बहसका क्रममा अभियानका नेताहरूले वैज्ञानिक समाजवादले मात्र यस्ता बाह्य हस्तक्षेपलाई पूर्ण रूपमा रोक्न र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सक्ने धारणा राखेका थिए।
नेतृत्वको सक्रियता र फिल्ड कमान्ड
यस अभियानलाई उचाइ प्रदान गर्न र युवाहरूलाई वैचारिक रूपमा प्रशिक्षित गर्न नेकपा (माओवादी) का स्थायी समिति सदस्य भरत सी र पोलिट्ब्युरो सदस्य विकल्प सी स्वयम् फिल्डमा खटिएका छन्। धनगढीदेखि टीकापुरसम्मका सबै कार्यक्रमहरूमा सक्रिय सहभागी हुँदै युवा र जनसमुदायलाई समाजवादी व्यवस्थाको आधार तयार पार्न र दलाल पुँजीवादका विरुद्ध संगठित हुन उनीहरुको अपिल छ।
बृहत् सहभागिता र अभियान टोलीको बिदाइ
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, सुरक्षाकर्मीका साथै सुकुम्बासी समुदायका अगुवाहरूको ठूलो उपस्थिति रहेको थियो। सहभागीहरूले सुकुम्बासी समस्याको स्थायी समाधान र स्वदेशमै रोजगारी सिर्जना गरी युवा पलायन रोक्ने ठोस योजनाको माग समेत गरेका थिए।
कैलालीका विभिन्न स्थानमा जागरण फैलाउँदै र राष्ट्रियताका मुद्दाहरूमा व्यापक जनमत सिर्जना गर्दै आज अभियान टोलीलाई सुदूरपश्चिमबाट भव्य रूपमा बिदाइ गरिएको छ। यो टोली अब अभियानको अर्को चरणका लागि लुम्बिनी को राजापुर मा प्रवेश गर्दै छ ।