इक्यान निर्वाचन : १८ पदका लागि ३४ जनाको मनोनयन दर्ता

मंगलबार, २२ पौस २०८२

काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को नयाँ नेतृत्वका लागि ३४ जनाले मनोनयन दर्ता गरेका छन् । आगामी पुस २८ गते हुने नयाँ निर्वाचनका लागि अध्यक्षमा महासचिव दीपकराज भसाल र प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रीयू)सहित ३४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

आगामी २० औँ साधारणसभा एंव महाधिवेशनबाट नयाँ कार्यसमितिका लागि अध्यक्षसहित १८ पदका लागि निर्वाचन हुने छ । अहिलेका अध्यक्ष शेषराज भट्टराई नेतृत्वको कार्यसमितिको दुईवर्षे कार्यकाल सकिएसँगै आगामी पुस २८ गते हुने नयाँ नेतृत्वको निर्वाचन हुन लागेको हो। निर्वाचनमा दुइवटा प्यानल बनाएर आंकाक्षी उम्मेद्वारहरू निर्वाचनमा होमिएका छन्।

३ उपाध्यक्षका लागि ७ जना प्रतिष्पर्धामा उत्रिएका छन् । उपाध्यक्षका लागि बर्तमान कार्यसमितिका सचिव रत्न बहादुर भट्टराई, सहकोषाध्यक्ष विकल्पराज पोखरेल, राइटपाथ करिअर काउन्सिलका सञ्चालक फिलिपकुमार डाँगी क्षेत्री, केन्द्रीय सदस्य मन्जित ढकाल, मिसन डक्टरका सञ्चालक पुष्पराज भट्टराई, प्राञ्जल एजुकेशनका सञ्चालक बासुदेव दाहाल र वर्तमान कार्यसमिति उपाध्यक्ष गिता सिवाकोटिले उम्मेदवारी दर्ता गरेका छन्।

यस्तै महासचिवको लागि दुइ जनाको उम्मेदवारी परेको छ। भुषाल प्यानलबाट वर्तमान कार्यसमितिका सचिव भवनाथ हुमागाई र पौडेल प्यानलबाट जीआइइसीका सञ्चालक नवराज केसी खत्रीले उम्मेदवारी दर्ता गरेका छन्। यस्तै २ जना सचिवका लागि ४ जनाले उम्मेदवारी दर्ता गरेका छन्। सचिवमा कार्यसमिति भुसाल प्यानलबाट वर्तमान कार्यसमितिका सदस्य सुरज शिलवाल, कोषाध्यक्ष आशोक कार्की र पौडेल प्यानलबाट भुपाल केसी र एलवि तामाङले उम्मेदवारी दर्ता गरेका छन्।

यस्तै कोषाध्यक्षमा भुसाल प्यानलबाट उमा खड्का र पौडेल प्यानलबाट साधना पुडासैनीले उम्मेदवारी दर्ता गरेका छन्। सहकोषाध्यक्षमा भुसाल प्यानलबाट गोविन्द खनाल र पौडेल प्यानलबाट भिमबहादुर थापाले उम्मेद्वारी दर्ता गरेका छन्।

९ जना सदस्यहरूको पदमा १४ जनाको उम्मेदवारी परेको छ। सदस्यको उम्मेदवारी दिनेमा असोक कुमार हाथी, प्रकाश रिजाल, अनन्तराज घिमिरे, विवेक बस्नेत, दामोदर शर्मा न्यौपाने, सञ्जिव पाण्डे, नवराज नेपाल, उद्दव वन, कमल प्रसाद तिमल्सिना, बसन्त पाण्डे, प्रभात पौडेल, भेषराज राय, दिनेश पौडेल, शिव प्रसाद अर्याल रहेका छन् ।

निर्वाचनमा नेपाली कांग्रेस निकट व्यवसायीहरूको तर्फबाट साझा अध्यक्षको उम्मेदवारका रुपमा पौडेल र नेपाली कम्युनिष्ट पार्टी निकट व्यवसायीहरुको साझा उम्मेदवारको रुपमा भुसाल देखिएका छन्। नेकपा एमाले निकट व्यवसायीहरूको संगठन प्रगतिशिल शैक्षिक परामर्श व्यवसायी संघ (पिक्यान)ले अध्यक्षमा भुसाल प्यानललाई समर्थन गरेको छ भने एमाले निकट व्यवसायीकै अर्को असन्तुष्ट समूहले पौडेललाई बोकेको छ । ।

नयाँ नेतृत्वका लागि अघिल्लो निर्वाचनमा अध्यक्षका प्रतिस्पर्धी विष्णुहरी पाण्डे प्यानलबाट निर्वाचित भएका इक्यानका प्रथम उपाध्यक्ष पौडेल र शेषराज भट्टराई नेतृत्वको प्यानलबाट महासचिवमा निर्वाचित भएका भूसालबीच अध्यक्षका लागि चर्को प्रतिस्पर्धा हुने देखिएको छ। उम्मेदवारले बुधबारसम्म नाम फिर्ता लिन चाहेमा फिर्ता लिन सक्ने निर्वाचन समितिले जनाएको छ ।

२१ जनाको कार्यसमिति रहने इक्यानमा २ जना सदस्य मनोनित गर्ने प्रावधान रहेको छ भने निवर्तमान अध्यक्षलाई आईपीपीका रुपमा कार्यसमितमा राख्ने प्रावधान रहेको छ।