समानुपातिकमा उम्मेदवार छान्न प्राइमरी इलेक्सन गरेको रास्वपाले प्रत्यक्षमा नगर्ने
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी आमनिर्वाचनमा उम्मेदवारी छान्ने विधि र प्रक्रिया फेरि बदल्ने भएको छ । नयाँ मोडालिटीबारे भने नेताहरू स्पष्ट भइसकेका छैनन् ।
पार्टीले उम्मेदवारीका लागि दरखास्त आह्वान गरिसकेको भए पनि छनोटको मोडालिटीमा अन्योल देखिएको हो । रास्वपाको सचिवालय वैठकपछि मंगलबार राति एक सूचना सम्प्रेषण गर्दै ‘उम्मेदवारी दिने अन्तिम समय पुस २६ गते राति १२ बजेसम्म’ । सूचनामा प्राइमरी इलेक्सन वा प्रारम्भिक निर्वाचन नभनेर ‘आन्तरिक उम्मेदवार छनोट प्रक्रिया’ भनिएको छ ।
रास्वपाले यसअघि नै उपसभापति डा। स्वर्णिम वाग्लेको अध्यक्षतामा उम्मेदवार सिफारिस उपसमिति गठन गरेको थियो । प्राइमरी इलेक्सनमा जाँदा उम्मेदवार सिफारिस आवश्यक पर्दैन । त्यसैले यसपटक प्राइमरी इलेक्सन नहुने बुझ्न सकिन्छ । स्रोतका अनुसार अहिलेसम्म रास्वपामा ५ दर्जनभन्दा बढी आकांक्षीहरुको निवेदन आइसकेको छ ।
रास्वपाले समानुपातिकमा प्राइमरी इलेक्सनबाट उम्मेदवार छनोट गरेको थियो । तर, यो विवादरहित रहन सकेन । नयाँ मोडालिटीमा प्राइमरी इलेक्सनलाई ५० प्रतिशत मात्रै मतभार दिएर बाँकी ५० प्रतिशत मतभारका लागि विभिन्न जटिल प्रावधानहरु बनाएको थियो । यही प्रक्रिया प्रत्यक्षतर्फ लागू हुन सक्ने अवस्था थिएन । त्यसमाथि अहिले बालेन र उज्यालो नेपाललाई पनि मर्ज गरिएको हुँदा सहमतिमा उम्मेदवार छान्नुपर्ने स्थिति रहेको नेताहरु बताउँछन् ।
रास्वपा सहमहामन्त्री विपिन आचार्यले उम्मेदवार छान्ने पुरानो विधिमा केही परिमार्जन हुने बताए । एकताको नयाँ प्रकृयामा आएको उज्यालो नेपाल पार्टी, बालेनको टीम, नाउपाबाट आएकाहरूको समायोजन प्रकृयामा रहेकाले अहिले पुरानो विधिबाट उम्मेदवार छनौट गर्न सम्भव नभएको उनको भनाइ छ ।