युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई अर्को झड्का

बिहिबार, २४ पौस २०८२

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई अर्को झड्का लागेको छ ।

राजनीतिक पार्टीमा संलग्न भएको भन्दै प्रधानमन्त्री सुशीला कार्कीले राजिनामा मागेको २ दिन पनि बित्न नपाउदै उनिबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

अमेरिका भ्रमणउपर छानबिनको माग गर्दै सिन्धुलीका युवराज सफलले आयोगमा उजुरी दिएका हुन् ।

सफलले उनीमाथि मानव तस्करीको मुद्दामा छानबिनको माग गर्दै बिहिबार आयोगमा उजुरी दर्ता गरेका छन् ।

आफू अमेरिकी युथ काउन्सिलको सदस्य भएको फाइदा उठाएर गुप्ताले कृत्रिम कार्यक्रममार्फत नेपालीलाई अमेरिका पुर्याउन खोजेको उनले आरोपसमेत लगाएका छन् ।

नम्बर सी–०३७१५९ भएको उजुरीमा भनिएको छ,‘नक्कली आयोजक, नक्कली निमन्त्रणा पत्र, आफू मात्र नभई सामूहिक रुपमा कार्यक्रमको नाममा अमेरिका जान खोज्नु संगठित रुपमा मानव तस्करी गर्नु हो ।

अतः उल्लेखित सम्पूर्ण कागजात झिकाई निज बब्लु गुप्तामाथि मानव तस्करी मुद्दामा समेत अनुसन्धान र दोषी देखिए हदैसम्म कारबाही गर्न माग गर्दछु ।’

त्यसैगरी, उनलाई मन्त्री पदबाट निलम्बन गर्न पनि सफलले माग गरेका छन् ।

मन्त्री गुप्ता ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेण्ट अफ नेपाल पोस्ट जेनजी रिभोल्युसन’ कार्यक्रममा सहभागी हुन आउँदो माघ ३ गते अमेरिका जाँदैछन् । गत पुस २२ गतेको क्याबिनेट बैठकले उनको भ्रमण स्वीकृत गरिसकेको छ ।

अमेरिकी सरकारको अभिलेखमा नभएको आयोजक देखाएर मन्त्रीको हैसियतमा मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत गराउनु अनियमित र गैरजिम्मेवार भएको सफलको ठहर छ ।