कुलमान सरकारबाट बाहिरिएसँगै फेरि जान थाल्यो झ्याप्प–झ्याप्प बत्ती

शुक्रबार, २५ पौस २०८२

काठमाडौं—उर्जामन्त्री कुलमान घिसिङ सरकारबाट बाहिरिएको २४ घन्टा पनि नबित्दै काठमाडौँ उपत्यका लगायत देशैभरका सहरी क्षेत्रमा झ्याप झ्याप बत्ति जान थालेको छ ।

लोडसेडिङ हटेको लामो समयपछि यसरी बिना सुचना बत्ति जानुलाई कुलमानको बहिरगमनको असरको रुपमा हेर्न थालिएको छ ।

उपभोक्ताहरूले लोडसेडिङ पुनः सुरु भएको शंका गरे पनि प्राधिकरणले प्राविधिक समस्या भएको जनाएको छ।

प्राधिकरणका अनुसार, कुलेखानी प्रसारण लाइनमा आएको समस्याका कारण बत्ती गएको हो। पछिल्लो एक हप्तामा हरेक दिन साँझमा बत्ति जान थालेको छ । यसरी निरन्तर साँझमा बत्ति जाने आउने समस्याले उपभोक्ताहरु समस्यामा पर्न थालेका छन् ।

प्राधिकरणका प्रवक्ता राजन ढकालले पछिल्लो समय झ्याप्प–झ्याप्प बत्ती जाने समस्या लोडसेडिङ वा विद्युत् अभाव नभई प्राविधिक समस्या भएको बताए ।

प्रवक्ता ढकालले भने, ‘केही दिन देखि साँझ पिक समयमा कुलेखानीको प्रसारण लाइन ट्रिप हुँदा प्रणालीमा केही समस्या आएको थियो। यो विद्युत् नपुगेर भएको होइन, प्राविधिक गडबडी मात्र हो ।’

उनले उक्त ट्रिप भएको लाइनमा आज (शुक्रबार) सट–डाउन गरेर मर्मत तथा निरीक्षणको काम भइरहेको जानकारी दिए ।

जाडो बढेसँगै बिजुली जाने समस्या बढेको हो । हिटर, एसी लगायतका उपकरण चलाउने क्रमपछि विद्युत्‌को माग बढेसँगै बिजुली जाने समस्या बढेको प्राधिकरणले जनाएको छ ।

काठमाडौँ,भक्तपुर र ललितपुरका विभिन्न ठाउँमा झ्याप्प–झ्याप्प बत्ती गइरहेको उपभोक्ताले गुनासो गरेका छन् । काठमाडौं उपत्यका मात्रै नभएर देशभरका सहरी क्षेत्रमा समेत निरन्तर रुपमा बत्ति गइरहेको उपभोक्ताको गुनासो छ ।