विप्लवका युवा नेता शाही काठमाडौंको चुनावी प्रतिस्पर्धामा

शुक्रबार, २५ पौस २०८२

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) युवा नेता धनराज शाही (डिआर) काठमाडौं १ नम्बर क्षेत्रबाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनको उम्मेदवार सिफारिस भएका छन् ।

कर्णालीको कालिकोटमा जन्मेका शाहीलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी) जिल्ला समिति काठमाडौंको बिहीबार बसेको बैठकले उहाँलाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनमा काठमाडौं १ नम्बर क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको हो ।

कालिकोट स्थायी घर भएको शाही लामो समयदेखि काठमाडौंमा बसेर राजनीति गर्दै आउनु भएको थियो । उहाँ काठमाडौं महानगर इन्चार्ज, काठमाडौं जिल्ला इन्चार्ज समेत भएर काम गरिसकेका छन् ।

पार्टी केन्द्रीय सदस्य समेत रहनुभएको शाहीले पार्टीको केन्द्रीय प्रकाशन रातो खबर पत्रिकाको प्रबन्ध निर्देशक समेत भएर काम गर्नुभएको थियो । शाही पार्टी प्रतिबन्धको बेला २०७५ चैत ११ गते कालिकोटबाट पक्राउ परि ४८ दिन कालिकोट हिरासत बसेका  थिए ।

शाही राजनीतिसँगै सामाजिक सेवामा समेत सक्रिय  रहेका छन्  । उनले कालिकोट कारागार बन्दीदेखि विभिन्न विद्यालय र दुखी असहायलाई राहत सामाग्री समेत सहयोग गर्दै आइरहेका छन् ।शाही प्रस्तावित निर्वाचन क्षेत्र रणनीतिक महत्वको क्षेत्र हो जहा नेपालका ठूला दल र चर्चित सामाजिक अभियानताको चर्को प्रतिस्पर्धा हुने गर्छ ।