विशेष महाधिवेशन : कांग्रेस पुनर्जागरणका लागि संकल्प प्रस्ताव
नेपाली कांग्रेस पछिल्ला केही वर्षदेखि गहिरो वैचारिक, संगठनात्मक र नैतिक सङ्कटको चरणबाट गुज्रिरहेको छ। लोकतान्त्रिक आन्दोलनको ऐतिहासिक नेतृत्वकर्ता दल आज आफ्नै पहिचान, उद्देश्य र राजनीतिक दिशाबारे गम्भीर अन्योलको अवस्थामा देखिन्छ। आन्तरिक लोकतन्त्र कमजोर हुँदै जानु, गुट–उपगुट संस्थागत हुनु, नेतृत्व र कार्यकर्ताबीच दूरी बढ्नु तथा सत्ता–केन्द्रित राजनीतिले पार्टीको जनआधार र नैतिक विश्वसनीयतालाई क्रमशः क्षीण बनाएको यथार्थ अब अस्वीकार्य अवस्थामा पुगेको छ।
यसै पृष्ठभूमिमा उठेको “जीवन्त र नयाँ कांग्रेस” को माग कुनै सीमित समूहको आकस्मिक आवाज होइन। यो बहुमत केन्द्रीय महाधिवेशन प्रतिनिधि, लाखौँ कार्यकर्ता तथा असंख्य शुभचिन्तकहरूको साझा मनोभावनाको सशक्त अभिव्यक्ति हो। पार्टीभित्र बढ्दो निराशा, दिशाहीनता र असन्तुष्टिले यस मागलाई अझ व्यापक, गहिरो र अपरिहार्य बनाएको छ।
सभापति तथा केन्द्रीय समितिको बहुमतबाट स्पष्ट अग्रसरता नदेखिएको अवस्थामा पनि दुई महामन्त्रीहरूले लिएको जोखिमपूर्ण तर जिम्मेवार पहल राजनीतिक रूपमा अत्यन्त महत्वपूर्ण छ। पार्टी विधानअनुसार पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशन आह्वान हुनु यसै पहलको ठोस उपलब्धि हो। यो कदम व्यक्ति, पद वा गुटभन्दा माथि उठेर पार्टीको दीर्घकालीन पुनर्जागरण र आन्तरिक लोकतान्त्रिक संस्कृतिको पुनर्स्थापनातर्फ केन्द्रित छ।
सभापति र अधिकांश केन्द्रीय सदस्यहरूबाट विशेष महाधिवेशनलाई निस्तेज पार्ने अनेकौँ सचेत तथा असचेत प्रयत्नहरू भइरहेकै बाबजुद विशेष महाधिवेशनको पक्षमा उठेको लहर आज देशभर फैलिएको छ। यो लहर कुनै व्यक्ति वा गुटको अभियान होइन; यो कांग्रेसभित्र लामो समयदेखि दबिइरहेको सामूहिक आकांक्षा, असन्तोष र परिवर्तनको चाहनाको सशक्त अभिव्यक्ति हो। अब यो न त रोकेर रोकिने छ, न छेकेर छेक्न सकिने अवस्था नै बाँकी छ।
कांग्रेसभित्रको यो बहस केवल दलगत सीमामा सीमित छैन। कमजोर बन्दै गएको लोकतान्त्रिक प्रणाली, विश्वसनीय वैकल्पिक शक्तिको अभाव र नागरिक तहमा बढ्दो राजनीतिक वितृष्णाको वर्तमान सन्दर्भमा कांग्रेसको पुनर्जागरण स्वयं राष्ट्रिय सरोकारको विषय बनेको छ। त्यसैले विशेष महाधिवेशनलाई जित–हारको संकुचित दृष्टिले होइन, पार्टीको सामूहिक विजय र लोकतान्त्रिक मूल्यहरूको सुदृढीकरणको ऐतिहासिक अवसरका रूपमा ग्रहण गर्नुपर्छ।
अब आदरणीय सभापति, कार्यबाहक सभापति, अन्य आदरणीय नेतागण तथा सम्पूर्ण केन्द्रीय सदस्यहरूले रोष र राग त्यागी यस अभियानको वास्तविक अर्थ र गहिराइलाई आत्मसात् गर्नुपर्छ। विशेष महाधिवेशनलाई अवरोध होइन, अवसरका रूपमा ग्रहण गर्दै जीवन्त, सबल र लोकतान्त्रिक कांग्रेस निर्माणको साझा अभियानमा साथ दिन अब कुनै पनि बहानामा विलम्ब गर्नु हुँदैन।
यस अर्थमा विशेष महाधिवेशन केवल नेतृत्व चयनको औपचारिक प्रक्रिया मात्र नभई वैचारिक, संगठनात्मक र नैतिक पुनर्निर्माणको निर्णायक मोड हुनुपर्छ। यस अवसरलाई सार्थक बनाउन निम्न संकल्प प्रस्तावहरू पारित गरिनु अपरिहार्य छः
१. राजनीतिक–वैचारिक पुनर्समीक्षा र स्पष्टता
२०४६ पछिका राजनीतिक अभ्यास, सरकार सञ्चालनका अनुभव, गठबन्धन रणनीति तथा नीतिगत विचलनहरूको आत्मआलोचनासहित गम्भीर समीक्षा गर्नुपर्छ। समाजवाद–उन्मुख लोकतन्त्र, समावेशिता, संघीयता र सामाजिक न्यायबारे समसामयिक वैचारिक स्पष्टता दिँदै “सत्ता–केन्द्रित राजनीति” बाट “नीति र मूल्य–केन्द्रित राजनीति” तर्फ स्पष्ट संकल्प व्यक्त गर्नुपर्छ।
२. संगठनात्मक संरचना र आन्तरिक लोकतन्त्रको सुधार
क्रियाशील सदस्यता वितरणमा भएका अनियमितता तथा गुटगत कब्जाको निष्पक्ष छानबिन गर्दै वडा–टोल तहदेखि केन्द्रसम्म तलबाट माथि (bottom-up) संगठन निर्माणका स्पष्ट र पारदर्शी मापदण्ड स्थापित गर्नुपर्छ। भ्रातृ संस्थाहरूलाई नेता उत्पादनको अखडा होइन, विचार, प्रशिक्षण र आन्दोलनका जीवन्त संरचनाका रूपमा पुनर्संरचना गर्न आवश्यक छ।
३. नेतृत्व चयन र उत्तराधिकारको संस्थागत व्यवस्था
उमेर, कार्यकाल, कार्यसम्पादन र नैतिक मापदण्डमा आधारित नेतृत्व नवीकरणको स्पष्ट प्रणाली विकास गर्दै एउटै व्यक्ति वा समूहमा शक्ति केन्द्रित हुने प्रवृत्तिको अन्त्य गर्नुपर्छ। दोस्रो पुस्ता तथा नयाँ नेतृत्वको व्यवस्थित उदय सुनिश्चित गर्नु समयको अनिवार्य माग हो।
४. गुट–उपगुट अन्त्य र आचारसंहिता कार्यान्वयन
गुटलाई मान्यता दिने संस्कृतिको औपचारिक अन्त्य गर्दै पार्टी पदाधिकारी, सांसद तथा निर्वाचित प्रतिनिधिका लागि कडाइका साथ आचारसंहिता लागू गर्नुपर्छ। हित–संघर्ष, दलाली र शक्ति दुरुपयोगमा राजनीतिक संरक्षण होइन, निष्पक्ष कारबाहीको संस्कार स्थापित गरिनुपर्छ।
५. नीति–कार्यक्रम र वैकल्पिक विकास दृष्टि
रोजगारी, कृषि, औद्योगिकीकरण, शिक्षा, स्वास्थ्य र जलवायु संकटजस्ता राष्ट्रिय प्राथमिकतामा स्पष्ट, व्यवहारिक र कांग्रेसियन नीति प्याकेज प्रस्तुत गर्नुपर्छ। संघीयताको प्रभावकारी कार्यान्वयन तथा स्थानीय सरकार सुदृढीकरणका लागि ठोस रोडम्याप विकास गर्न आवश्यक छ।
६. गठबन्धन राजनीतिबारे संस्थागत स्पष्टता
सत्ता–केन्द्रित अवसरवादी गठबन्धन कि सिद्धान्तमा आधारित सहकार्य भन्ने विषयमा स्पष्ट मापदण्ड तय गर्दै कार्यकर्ता र जनतालाई अलमल्याउने अस्पष्टताको अन्त्य गर्नुपर्छ।
७. जनविश्वास पुनःस्थापना र नैतिक पुनर्निर्माण
भ्रष्टाचार, नातावाद–कृपावाद र शक्ति दलालीप्रति शून्य सहनशीलताको व्यवहारिक अभ्यास अनिवार्य बनाउनु पर्छ। जनआन्दोलन, त्याग र नैतिक राजनीतिमा आधारित कांग्रेसको ऐतिहासिक पहिचान पुनर्जीवित गर्दै
“कांग्रेस सत्ताको साधन होइन, लोकतन्त्रको संरक्षक हो” भन्ने जनविश्वास पुनःस्थापना गर्नुपर्छ।
८. कार्यकर्ता सशक्तीकरण, प्रशिक्षण र संरक्षण
पार्टीका आधारस्तम्भ कार्यकर्ताको राजनीतिक, वैचारिक र संगठनात्मक क्षमता अभिवृद्धिका लागि नियमित प्रशिक्षण, अध्ययन केन्द्र तथा नीति संवाद कार्यक्रम सञ्चालन गर्नुपर्छ। सक्रिय कार्यकर्ताको योगदानको कदर गर्दै संरक्षण र न्याय सुनिश्चित गरिनुपर्छ।
९. नीति निर्माणमा जनसहभागिता र आन्तरिक बहस
नीति, कार्यक्रम तथा महत्वपूर्ण निर्णयहरू सीमित नेतृत्व तहमा मात्र होइन; कार्यकर्ता, विज्ञ, नागरिक समाज र सरोकारवालाको सहभागितामा निर्माण गर्ने संस्थागत संयन्त्र विकास गर्नुपर्छ। खुला बहस र फरक मतलाई कमजोरी होइन, लोकतान्त्रिक शक्तिका रूपमा ग्रहण गर्ने संस्कार विकास गरिनुपर्छ।
१०. पारदर्शिता, जवाफदेहिता र आन्तरिक न्याय प्रणाली
आर्थिक लेनदेन, टिकट वितरण, नियुक्ति तथा निर्णय प्रक्रियामा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न प्रभावकारी आन्तरिक निगरानी तथा न्याय संयन्त्र सुदृढ गर्नुपर्छ। पार्टीलाई व्यक्ति होइन, विधि, नियम र संस्थाको अधीनमा सञ्चालन गर्ने संस्कार स्थापित गर्न आवश्यक छ।