‘अधिकार बिनाको देवता’
म ढुंगा बन्न खोज्दा
तिमीले मलाई मूर्ति बनायौ
आकार दियौ,
अर्थ दियौ,
तर अधिकार कहिले दिएनौ ।
आफ्नै हातले घिसारेर
मलाई मन्दिर पुर्यायौ ।
र आज,
आफ्नै छायाँसग बस्न नपाउने
पवित्र एकान्तमा थुनेर छोडयौ ।
किन तिमीले
मलाई तिम्रो हुन दिँदैनौ,
तर अरु सबैको बन्न
बाध्य बनायौ ?
किन मन्दिरका घण्टाहरुले
मेरो नाम पुकार्छन्,
तर तिम्रो आवाज कहिले
यहाँसम्म आइपुग्दैन ?
मलाई पूजाको धूप चाहिएको थिएन
तिम्रो थाकेको निधार,
टेक्ने बहाना चाहिएको थियो ।
मलाई फूलमालाको बोझ होइन,
तिम्रो मौन हातको स्पर्श चाहिएको थियो ।
आज दर्शनार्थीहरुको लामो पंक्तिमा
उभिएर,
म सहन्छु
अपरिचित हातहरुको श्रद्धा
तर मेरो नजर भने
दिन रात
तिमी आउने बाटोतिर
थाकेर पनि फर्कन जाँदैन ।
यदि देवत्व नै
मेरो नियति थियो भने
कम्तीमा तिम्रो आँगनको
सानो ढुंगा भएर
टुट्न पाउने अधिकार त देऊ ।