गगन थापाले बोलाएको विशेष महाधिवेशनमा देउवा निकट २८ जना केन्द्रीय सदस्यहरू सहभागी

आइतबार, २७ पौस २०८२

काठमाडौं—गगन थापाले बोलाएको विशेष महाधिवेशनमा देउवा निकट २८ जना केन्द्रीय सदस्यहरू सहभागी भएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्यहरू डिला संग्रौला, पुष्पा भुसाल, राजन केसी, अब्दुल सतार, अर्जुन जोशी, देवेन्द्रराज कँडेल, नानु बास्तोला, योगेन्द्र चौधरी, भरत शाह, विनोद चौधरी, उदयशमशेर राणालगायतका नेताहरू सहभागी भएका हुन् । उनीहरूले मध्यमार्गी विकल्प खोज्दै पार्टी विभाजन रोक्ने प्रयास गरिरहेका छन् ।

उनीहरू मध्यमार्गी विकल्प खोज्दै पार्टी विभाजन रोक्ने प्रयासमा रहेको बताइएको छ । ती सबै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापक्षीय हुन्। कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा सहभागी भएका उनीहरूमध्ये कतिपयलाई भृकुटीमण्डपस्थित महाधिवेशन स्थलमा मञ्चमा आसन ग्रहण गराइएको छ।

आयोजकहरुले देउवा निकट अन्य नेताहरू पनि कार्यक्रममा सहभागी हुन आउने क्रम जारी रहेको बताए । नेताहरू चन्द्र भण्डारी, तारानाथ रानाभाट, गोपालमान श्रेष्ठ, अर्जुन नरसिंह केसी, महेश आचार्य, ओमकारप्रसाद श्रेष्ठलगायत अगाडि देखिएका छन् ।

तर सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइराला भने सहभागी भएका छैनन्। कोइरालाले भने भावुक भिडियो सन्देश मार्फत् विशेष महाधिवेशन पक्षधरलाई शुभकामना दिएका छन्। उनले मन्त्री, महामन्त्री, सभापति वा प्रधानमन्त्री बन्ने लोभले राजनीतिमा नलागेको उल्लेख गरे ।

‘मलाई सभापति वा प्रधानमन्त्रीको कुर्सीले पनि लोभ्याउँदैन। मेरो परिवारबाट पाएको संस्कार र शिक्षा नै मेरो जीवन दर्शन हो। यही दर्शनबाट प्रेरित भएर म कांग्रेसको समग्र एकताको पक्षमा शान्त आवाज उठाइरहेको छु र उठाइरहनेछु,’ कोइरालाले भनेका छन्।