उदयपुर २ बाट युवा नेता लक्ष्मण नेकपाकाे उम्मेदवारी सिफारिस

सोमबार, २८ पौस २०८२

उदयपुर – नेपाली कम्युनिस्ट पार्टी उदयपुरले प्रतिनिधिसभा निर्वाचनका लागि उदयपुर क्षेत्र नं. २ उदयमान युवा नेता लक्ष्मण पौड्याललाई प्रमुख उम्मेदवारका रूपमा अघि सारेको छ।

पौड्याल सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका नेता हुन्। उनी शिक्षा क्षेत्रको सुधार, कृषिमा आत्मनिर्भरता, भ्रष्टाचारविरुद्धका अभियान तथा राष्ट्रिय स्वाधीनताको पक्षमा स्पष्ट अडान राख्दै निरन्तर क्रियाशील छन्। पछिल्लो समय युवापुस्तामाझ देखिएको ‘जेन–जी आन्दोलन’को पक्षमा खुलेर उभिने नेताका रूपमा पनि उनी परिचित छन् ।

स्थानीय तहमा विकास र सुशासनका मुद्दालाई केन्द्रमा राख्दै अघि बढेका पौडेललाई उदयपुर क्षेत्र नं. २ को समग्र विकासका लागि स्पष्ट दृष्टिकोण बोकेको र जनताले रुचाएको नेताका रूपमा बुझिएको पार्टीको दाबी छ ।

यसैगरी पार्टीले २०५४ सालको संसद् सदस्य जगन्नाथ खतिवडा, २०७४ सालको निर्वाचनमा विजयी सुरेश कुमार राई तथा संविधानसभा सदस्य भेष कुमारी राउत, हेमराज दाहाल, एबिराज राई र जेन-जी युवा सरोज कार्कीलाई पनि उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।

नेपाली कम्युनिस्ट पार्टी उदयपुरका कार्यदल सदस्य राममणि पोखरेलका अनुसार उम्मेदवार सिफारिस प्रक्रिया पार्टीको आन्तरिक छलफल, स्थानीय संगठनको सुझाव तथा राजनीतिक मूल्यांकनका आधारमा गरिएको हो। अन्तिम निर्णय केन्द्रिय समितिबाट हुने उनले जानकारी दिए ।

पार्टीले उदयपुर क्षेत्र नं. २ मा वैचारिक रूपमा स्पष्ट, जनमुखी र परिवर्तनकारी नेतृत्व अघि सारेर वैकल्पिक राजनीतिको सशक्त सन्देश दिन खोजेको जनाएको छ ।