विशेष महाधिवेशन: के पूर्णबहादुर खड्का र शेखर कोइरालाको रेल छुटेकै हो त ?
काठमाडौँ – संयोग मात्र होइन, इतिहासकै शुभ संयोगजस्तै—राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसकै दिन नेपाली कांग्रेसको विशेष महाधिवेशनमा उर्लिएको जनसागर कुनै साधारण भीड थिएन। त्यो न त क्षणिक आवेगको खहरे भिड थियो, न त कुनै राजनीतिक प्रतिस्पर्धीले भाडामा जुटाएको जमात।
त्यो त कांग्रेसको जिउँदो चेतना, नव–कांग्रेसको आकांक्षा र पुनर्जागरणको पुकार बोकेर देशका कुनाकापचाबाट आइपुगेका हजारौँ शुभचिन्तकहरूको उपस्थिती थियो । त्यहाँ उमेरको कुनै सीमारेखा थिएन-८० काटेका पुराना कांग्रेसीदेखि जेन–जीका नवयुवासम्म। समय र मौसमको कुनै गुनासो थिएन-पुसको कठ्याङ्ग्रिँदो चिसोमा पनि राति ७:३० बजेसम्म धैर्यपूर्वक बसिरहने अनुशासन र प्रतिबद्धता थियो। यस्तो दृश्य नेपाली कांग्रेसको इतिहासमा विरलै देखिएको हो। तर यही ऐतिहासिक क्षणमा नेतृत्वको व्यवहार भने गहिरो प्रश्नको घेरामा पर्यो।
नेतृत्वको अनुपस्थिति : अहंकार कि राजनीतिक अन्धोपन ?
दुई–दुई पटक विश्वास गरेर सभापति बनाइएका, पाँचौँ पटक राज्यको बागडोर सम्हालिसकेका पार्टी सभापति शेरबहादुर देउवामा यो जनभावनाले कुनै कम्पनसमेत ल्याउन नसक्नु गम्भीर विषय हो। घण्टौँसम्म भृकुटीमण्डपमा कार्यकर्ताहरूको नजर मञ्चतर्फै अडिएको थियो—सभापति र कार्यवाहक सभापतिको कुर्सी रिक्तै रहँदा पनि।
इतिहाससँग आँखा जुधाउन नसक्ने र अहंकारकै आधारमा निर्णय गर्ने नेतृत्व नआउनु, सायद, “स्वाभाविक” नै मान्न सकिएला। तर प्रश्न त्यतिमा सीमित छैन।
झन् आश्चर्य त के हो भने -सभापतिका आदरणीय ‘चेला’ पूर्णबहादुर खड्का र पछिल्लो समय राजनीतिक तथा सामरिक रूपमा नजिकिँदै गएका डा। शेखर कोइरालाको समेत उपस्थिति नहुनु हो। यो अनुपस्थिति संयोग होइन, राजनीतिक सन्देश हो, तर त्यो सन्देश के हो ?
भुइँमान्छेको प्रश्न : कलम र कदम दुवै व्यर्थ भए ?
म जस्ता भुइँखुट्टे हजारौँ शुभचिन्तकले कलमले लेखेका चेतावनी, कदमले देखाएका संकेत र सार्वजनिक रूपमा व्यक्त गरेका सुझाव के साँच्चै भेरीमा बगेर गए ?
के नेतृत्वले जनभावनाको रेल छुटाइसकेको होरु वा अझै अर्को ‘स्टेसन’मा उभिएर नयाँ अवसर कुर्ने मानसिकता बाँकी नै छ ? यी प्रश्नहरू अब भावनात्मक मात्र छैनन्—रणनीतिक भइसकेका छन्। अब विकल्प के–के छन्रु विशेष महाधिवेशन सुरु भइसकेको छ। बहुमत प्रतिनिधि नयाँ नेतृत्व, नयाँ नीति र नयाँ कार्यशैलीका लागि मानसिक रूपमा तयार देखिन्छन्। यस्तो अवस्थामा वर्तमान नेतृत्व वा प्रभावशाली नेताहरूका अगाडि मुख्यतः पाँच विकल्प देखिन्छन्-
१. आत्मसमीक्षासहित रूपान्तरण
अहंकार त्यागेर जनसागरको सन्देश बुझ्ने, विशेष महाधिवेशनलाई अवसरका रूपमा लिने र आफूलाई रूपान्तरण गर्ने। कठिन भए पनि सबैभन्दा सम्मानजनक विकल्प यही हो।
२. यथास्थितिकाे अडान
जनदबाबलाई ‘क्षणिक’ ठानेर प्रक्रियागत जटिलतामा अल्झाउँदै विशेष महाधिवेशनलाई निष्क्रिय बनाउने प्रयास। यसले पार्टीलाई अझ कमजोर बनाउने निश्चित छ।
३. नयाँ नेतृत्वसँग समन्वय
नयाँ पुस्ता र सुधारवादी शक्तिसँग सहकार्य गर्दै ‘गार्डियन’ भूमिकामा सर्नु। यसले राजनीतिक विरासत जोगाउन सक्छ।
४. समयसँग संघर्ष
परिवर्तनको धारविरुद्ध उभिने प्रयास। इतिहासले देखाइसकेको छ—यो बाटो दीर्घकालीन हुँदैन।
५. इतिहासद्वारा विस्थापन :
माथिका कुनै विकल्प रोजिएनन् भने इतिहास आफैंले निर्णय गर्नेछ-जसरी समयले धेरै शक्तिशाली नेताहरूलाई पन्छाउँदै आएको छ।
अन्त्यमा : कांग्रेस बचाउने कि कुर्सी ? विशेष महाधिवेशनको जनसागर कुनै व्यक्ति–विरोधी लहर होइन। त्यो कांग्रेस बचाउने अन्तिम चेतावनी हो। अब प्रश्न स्पष्ट छ- नेतृत्व कांग्रेस बचाउन तयार छ कि केवल कुर्सी जोगाउन ?
इतिहासले ढोका ढकढक्याइसकेको छ। ढोका खोल्ने कि नखोल्ने निर्णय अब नेतृत्वकै हातमा छ।