पत्रकारको प्रश्नले कुलमान घिसिङलाई पार्यो रुनु न हास्नु
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रक्रिया भाँडिएपछि उज्यालो नेपाल पार्टी (उनेपा) अध्यक्ष कुलमान घिसिङले शनिबार साँझ पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरे, जहाँ उनले आफूहरूलाई रास्वपाबाट धोका भएको भन्दै पीडा व्यक्त गरे ।
आफ्ना भनाइ राख्ने क्रममा घिसिङले रास्वपासँगको सहमति र एकता भाँडिनुमा आफूहरूको दोष नभएको बताए । त्यस क्रममा उनले एकता गर्ने बेलमा अलिखित सहमतिहरू भएका र आफूहरूको कुनै ठुलो माग नभएको प्रस्ट्याएका थिए । साथै पदको बार्गेनिङ गरिएको भन्ने कुरा पनि सरासर गलत भएको उनको तर्क थियो ।
आफ्नो भनाइ अन्त्य गरेपछि केहीबेर उनले पत्रकारहरूको प्रश्नको जवाफ पनि दिए । जहाँ उनलाई सोधिएको थियो– तपाईंको पार्टीलाई समानुपातिकमा कहाँ मत हाल्ने ?
जवाफमा कुलमानले भने, ‘हामी व्यवस्था गर्छौँ ।, त्यसपछि उनलाई फेरि प्रश्न गरियो– व्यवस्थापन गर्छौँ भन्नुभयो, अब कानुनले मिल्दैन नि त? जवाफमा कुलमानले भने, ‘नभए हामी प्रत्यक्षमा मात्र लड्छौँ । पत्रकारले अब रास्वपासँग के हुन्छ भनी प्रश्न गरेका थिए । जवाफमा कुलमानले रास्वपा मित्र शक्ति भएकाले चुनावमा सहकार्य हुन सक्ने बताएका थिए । उनले भने, ‘पार्टी एकता उहाँहरूले नै तोड्नुभयो, उहाँहरूले चाहनुभएन, पार्टी एकता भएन ।,
गत पुस १४ गते रास्वपा र उनेपाबिच पार्टी एकता गर्ने सहमति भएसँगै फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक सूची पनि त्यसैअनुसार तयार पारिएको थियो । समानुपातिक सूची बुझाउन निर्वाचन आयोगको समय घर्किएपछि दुई दलबिचको एकता भाँडिएको हो ।