भारतको हिमाचलमा आगलागीमा परि सल्यानका ९ जना नेपालीको ज्यान गयो
काठमाडौं – भारतको हिमाचल प्रदेशको सोलान जिल्लामा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जना नेपालीको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा नेपालको सल्यानस्थित सिद्ध कुमाल गाउँपालिकाका स्थायी बासिन्दा रहेका छन् । सिद्धकुमाख गाउँपालिका–२ टाकुराका २ परिवारहरू करिब दुई वर्षदेखि भारतमा मजदुरी गर्दै आएका थिए।
आइतबार राति करिब २ बजे उनीहरू सुतिरहेको कोठामा राखिएको ग्यास सिलिन्डर अचानक विस्फोट भएपछि आगलागी भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिएका छन् ।
आगो एकदमै भीषण हुँदा उनीहरूलाई ज्यान जोगाउन गाह्रो भएको उनको भनाइ छ। मृत्युु हुनेमा ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती ३२ वर्षीया कविता विक, दुई छोरी राधा (१६) र रेणुका (१०) तथा २२ महिनाका छोरा राजन विकको मृत्यु भएको छ। यस्तै, सोही गाउँका काशीराम विक (४६), उनकी श्रीमती टीका विक (३२), छोरी अनु (११)र छोरा किरण (७) को पनि ज्यान गएको छ।
प्रहरी नायब उपरीक्षक केसीका अनुसार विस्फोटपछि आगलागी फैलिँदा शवहरू क्षतविक्षत भएका थिए । हालसम्म पाँच जनाको शव फेला परेको छ भने बाँकीको खोजी कार्य जारी छ। घटनास्थलमा भारतीय स्थानीय प्रशासन र सुरक्षाकर्मीले उद्धार तथा अनुसन्धान गरिरहेका उनले जानकारी दिए ।
एकै गाउँका नौ जनाको एकैपटक मृत्यु भएपछि सिद्धकुमाख गाउँपालिका शोकमा डुबेको वडा नम्बर २ का वडाध्यक्षमेक बहादुर बुढाथोकीले जानकारी दिए ।