भ्रष्टाचार नियन्त्रण गर्न आएको सुशीला कार्की सरकार भ्रष्टाचारीहरूकाे नाइके बन्याे : चिरन्जीवी सी

मंगलबार, २९ पौस २०८२

रसुवा – नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का केन्द्रीय सदस्य चिरन्जीवी सीले सुशीला कार्की नेतृत्वको सरकार भ्रष्टाचारीहरूकाे नाइके बनेकाे आराेप लगाएका छन् । नुवाकाेटकाे बटारमा समाजवादी युवा जागरण अभियानकाे क्रममा आयोजना काेणसभालाई सम्बाेधन गर्दै उनले १ महिनामै भष्टाचार नियन्त्रण गर्छु भनेर सत्तामा आएकी कार्की आफै भ्रष्टाचारीकाे नाइके बन्न पुगेको आराेप लगाएका हुन् ।

जेनजी आन्दाेलन पछि बनेकाे सरकार जेनजीका माग पुरा गर्न उदासिन बनेकाे बताउँदै पुराना भ्रष्टकै इसारामा सरकार चलाएकाे आराेपसमेत लगाएका छन् । “भ्रष्टाचारीलाई १ महिनाभित्र अनुसन्धान गरि कालकाेठरीमा पुर्याउँछु भनेर सत्तामा आएकी सुशीला कार्की आफै भ्रष्टाचारीकाे नाइके बन्न पुगेकी छन् ।”, सभालाई सम्बाेधन गर्दै उनले भने, “कार्कीले जनताका समस्या समाधान गर्ने हाेइन, अमेरिकी, भारतीयलाई रिझाएर सरकारमा टिकिराख्ने प्रपन्च रचिराखेकी छन् ।”

याे सरकारले जनताका समस्या समाधान गर्न नसकेकाे, जेनजीहरूका मागमा सरकार उदासिन बनेकाे बताउँदै वर्तमान संकटको समाधान र जेनजीमा माग पुरा गर्न सर्वपक्षिय अन्तरिम सरकार बन्नुपर्ने, संविधान पुनर्लेखनसहित संशाेधन गर्नुपर्ने, कालाेबजारी नियन्त्रणका लागि १ हजार र ५ सयका नाेटमाथि प्रतिबन्ध लगाउनुपर्ने लगायतका ऐजेण्डासहित नेकपा माओवादी समाजवादी युवा जागरण अभियान लिएर जनतामाझ आएकाे बताए ।

सभालाई सम्बाेधन गर्दै नेकपा माओवादी नुवाकाेटका जिल्ला इन्चार्ज महेन्द्र सीले पुराना राजनीतिक दलहरुका कारण देशकाे राष्ट्रिय स्वाधीनता कमजाेर भएकाे, भ्रष्टाचार बढेकाे र वैदेशिक हस्तक्षप बढेको बताउँदै देश निकै ठूलो संकटमा परेको खुलासा गरे । एमाले, कांग्रेस र प्रचण्डकाे पार्टीका गतिविधिले नेपालमा जेनजी आन्दाेलन भएकाे दावि गर्दै देशकाे संकटकाे सामाधान नेकपा माओवादीसँग भएकाे जिकिर गरे ।

बटार र पिपलटार बजारमा समाजवादी जागरण अभियानका १५ सय वढी पर्चा वितरण गर्दै बटार चाेेकमा काेणसभा आयाेजना गरिएको थियो । काेणसभालाई नुवाकोट जिल्ला समिति सदस्य बसन्ती सीले संचालन गरेकी थिइन् ।

नेकपा(माओवादी) केन्द्रीय समितिकाे आयोजनामा संचालित समाजवादी जागरण अभियान नुवाकाेट पछि रसुवा पुगेकाे छ । रसुवा जिल्ला इन्चार्ज प्रकाश सी नेतृत्वकाे टाेलीले अभियान टाेलीलाई नुवाकाेट-रसुवाकाे सीमाना बेत्रावती बजारमा स्वागत गरेकाे थियाे । चिरन्जीवी सी नेतृत्वकाे अभियान टाेलीमा केन्द्रीय सदस्य सम्झना सी, प्रकाश सी, विनिता सी तथा रमेश सी, अनिल सी, शाेभराज सी, तारा सी लगायत रहेका छन् ।