बाढीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध, बाढीले कहाँ-कहाँ भयो क्षति ? अवडेट सहित

शुक्रबार, २७ असार २०७६

काठमाडौं – बिहीबारदेखिको अविरल वर्षापछि आएको बाढीले देशभरको जनजीवन प्रभावित भएको छ । बाढीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ भने रौतहटको लाल बकैया नदीले बन्जरहाको बाँध कटान गर्दा आधा दर्जन बस्ती डुवानमा परेका छन् ।

अविरल वर्षापछि चन्द्रपुर लच्कामा आएको बाढी सडकमा पसेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बन्न पुगेको रौतहट प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध भएसँगै दुवैतर्फका सवारी गन्तव्यमा जान नसकेर रोकिएका छन् ।

सडकमा देखिएको अवरोध हटाएर सञ्चालनमा ल्याउने प्रयासमा जुटिरहेको प्रहरीले जनाएको छ । तर, वर्षा जारी रहेकाले कठिनाइ भइरहेको छ ।

त्यस्तै, लगातारका वर्षाका कारण विराटनगरका अधिकांश क्षेत्र बुवानमा परेका छन । कोशी अञ्चल अस्पताल डुबेको छ प्रहरीले जनाएको छ ।

सडकको पानी अस्पतालभित्र पस्दा औषधि पसलसहितका प्रशासनिक भवनसमेत प्रभावित बनेका छन् । विराटनगरको दक्षिणी क्षेत्रका केही बस्तीमा पानीको सतह बढेपछि डुबानमा छन् भने बजार क्षेत्रमा पनि पानी जमेको छ ।

यसैबीच, बाजुराको त्रिबेणी नगरपालिका वडा नं ९ पैंमामा पहिरो खस्ने क्रम जारी छ । पहिरोकै कारण बूढीगंगा नदी थुनिँदै गएपछि ताल बनेको छ । बुधबार साँझबाट निरन्तर झरी परेका कारण पहाड खस्ने क्रम जारी रहेको स्थानीयले बताएका छन्।

बूढीगंगा नदी थुनिँदा नदीकिनार आसपासका जनता त्रसित छन् । साँफे–मार्तडी सडक खण्ड अवरुद्ध हुने त्रासले लामो तथा छोटो दूरीका यातायातका साधन बाटोमै रोकिएका छन् ।