विदेशी एजेण्टको प्रभावमा परेर सरकारी कर्मचारीले धरौटी ल्याउन खोजे : अध्यक्ष बराल
काठमाडौं – नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बरालले विदेशी एजेन्टको प्रभावमा परेर सरकारी कर्मचारीले शैक्षिक परामर्श क्षेत्रमा धरौटी ल्याउन खोजेको आरोप लगाएका छन् । बरालले विदेशी कम्पनीहरुको प्रभावमा परेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको कानुन तथा फैसला कार्यन्वयन शाखाका कर्मचारीले धरौटी ल्याउन खोजेको आरोप लगाएका हुन् ।
मोटिभेट न्यूज डटकमसँग कुरा गर्दै बरालले शिक्षा ऐन २०२८ को दफा १६ (ढ) अनुसार निर्माणधिन नियमावलीमा शंका गर्ने प्रसंस्त ठाउँहरु रहेको बताउँदै यसले नेपालको शैक्षिक परामर्श क्षेत्र तहस–नहस हुने बताए । ‘नेपालमा गैरकानुनी रुपमा चलिरहेका केही विदेशी कम्पनीको प्रभावमा मन्त्रालयका कर्मचारी पर्न नहुने हो ।’, बरालले भने, ‘यो नियमावली कार्यान्वयन भएको खण्डमा नेपालको शैक्षिक परामर्श व्यवसाय धरासायी हुनेछ । विदेशी कम्पनीको वर्चश्व बढ्ने छ ।’
नेपालको शैक्षिक परामर्श व्यवसायलाई नियमन गर्न, प्रवद्र्धन र अनुगमन गर्नका लागि शैक्षिक परामर्श व्यवसायी महासंघसहित व्यवसायी संग–संगठनसँग परामर्श अनिवार्य भएको दावि गर्दै उनले मन्त्रालयले बनाएको ड्राफ्ट तुरुन्त फिर्ता हुनुपर्ने बताए । शिक्षा मन्त्रीलाई पत्रचार गर्दै बरालले यस विषयमा तुरुन्त छलफलका लागि महासंघ लगायतका संघसंस्थालाई बोलाउन मागसमेत गरेका छन् ।
‘यस शैक्षिक परामर्श क्षेत्रलाई नियमन, प्रवर्द्धन र अनुगमनको लागि बन्न लागेको ड्राफ्ट नियमावली मस्यौदामा शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित गर्ने कम्पनीको नाममा विभिन्न शिर्षकको धरौटीलगायत विभिन्न बुदाहरु रहेको सुन्नमा आएकाले यस विषय कुनै पनि हालतमा यस शैक्षिक परामर्श क्षेत्रका संघ र महासंघलाई किमार्थ स्विकार्य छैन र सहमति छैन ।’, पत्रमा भनेका छन्, ‘नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघको शैक्षिक परामर्श क्षेत्र व्यवस्थित, पारदर्शी, मर्यादित वनाउनका लागि अतुलनिय भुमिका रहेकाले यस पेशाको लागि महासंघसँग छलफल गराईयोस् भनि यो निवेदन पेश गर्दछु ।’
मन्त्रालयले तयार पारेको नियमावलीमा २० लाखदेखि १ करोडसम्म धरौटी बुझाएर शैक्षिक परामर्श व्यवसाय संचालन गर्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले पनि धरौटीको विरोध गर्दै विज्ञप्ति निकालेको थियो भने मन्त्रालयमा पुगेर कर्मचारीको ध्यानाकर्षण गरेको थियो ।
