आधिकारिकता दाबी गर्दै देउवा समूह सर्वोच्च जाँदै
काठमाडौं – नेपाली कांग्रेसको देउवा समूह गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाँदै छ । कार्यबहाक सभापति पूर्णबहादुर खड्का रिट निवेदन लिएर अन्तरिमा आदेश मागसहित अदालत जाने भएको हुन् ।
देउवा समूहको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो । कानुनी पाटोको जिम्मा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको थियो ।
खड्का अहिले रिट तयार पार्नका लागि कानुन व्यवसायीहरुसँग छलफलमा छन् । त्यसमा बरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसी लगायतले साथ दिइरहेको स्रोत बताउँछ । गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गरेर नयाँ कार्यसमिति चयन गरेका छन् । सभापति गगन थापा चुनिएका छन् ।
देउवा पक्षले भने नियमित महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नहुने भन्दै विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको छ ।