नेपाली कांग्रेस : अब विकल्प खोज्ने होइन, विकल्प बन्ने राजनीति

आइतबार, ४ माघ २०८२

नेपालको पछिल्लो राजनीतिक इतिहासमा “जेन–जी आन्दोलन” केवल एक पुस्तागत असन्तोषको आकस्मिक विस्फोट मात्र थिएन। त्यो राज्य सञ्चालनमा मौलाउँदै गएको अनियमितता, भ्रष्टाचार र कुशासनविरुद्धको सामूहिक चेतनाको जागरण थियो। जेन–जी भाइबहिनीहरूले ठूलो व्यक्तिगत जोखिम, सामाजिक दबाब र बलिदानका साथ उठाएको आन्दोलनले नेपाली राजनीतिलाई स्पष्ट सन्देश दियो : अब पुरानै ढाँचाको राजनीति स्वीकार्य छैन।

त्यही चेतनाको निरन्तरतामा आज नेपाली कांग्रेसभित्र गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा अघि बढिरहेको रुपान्तरण प्रयासलाई “कांग्रेसभित्रको जेन–जी” भन्नु कुनै अतिशयोक्ति होइन। फरक यति मात्र हो, जेन–जी आन्दोलन सडकबाट सुरु भयो भने, गगन–विश्वको अभियान पार्टीभित्रको संरचनात्मक, वैचारिक र नैतिक परिवर्तनबाट अघि बढ्यो।

जोखिमपूर्ण तर ऐतिहासिक कदम: विशेष महाधिवेशन

नेपाली कांग्रेसको विशेष महाधिवेशन केवल एउटा सांगठनिक प्रक्रिया थिएन। त्यो पार्टीको वैचारिक, नैतिक र संरचनात्मक पुनर्जन्मको साहसी प्रयास थियो। सत्ताको सहज बाटो त्यागेर, स्थापित गुट–उपगुट र शक्ति सन्तुलनलाई सीधै चुनौती दिँदै गगन–विश्वले जुन जोखिम उठाए, त्यो नेपाली राजनीतिक दलहरूको इतिहासमै दुर्लभ छ।

विशेष महाधिवेशनमा प्रस्तुत रुपान्तरणमुखी एजेन्डाहरू स्पष्ट र निर्भीक थिए । आन्तरिक लोकतन्त्रको सुदृढीकरण, पारदर्शी र प्रतिस्पर्धी नेतृत्व चयन प्रणाली, गुट–उपगुटको संस्थागत अन्त्य, नीति, विचार र कार्यसम्पादनमा आधारित नेतृत्व विकास, भ्रष्टाचारप्रति शून्य सहनशीलता, जनउत्तरदायी, समावेशी र आधुनिक कांग्रेसको परिकल्पना लगायतका एजेन्डाहरू जेन–जी आन्दोलनका मूल मागभन्दा अझ संस्थागत, व्यवस्थित र दीर्घकालीन देखिन्छन्।

सडकको आक्रोशलाई नीति र संरचनामा रूपान्तरण गर्नु नै साँचो राजनीतिक प्रगतिशीलता हो र ठीक यही काम गगन–विश्वको नेतृत्वले गर्न खोजेको छ।

संस्थागत मान्यता र राजनीतिक वैधता

यो रुपान्तरण प्रयासको अर्को महत्वपूर्ण पक्ष के हो भने, नेपालको आधिकारिक संवैधानिक संस्था, निर्वाचन आयोगले समेत विशेष महाधिवेशन र त्यसबाट अघि सारिएको प्रक्रियालाई मान्यता दिएको छ। यसले गगन–विश्वको अभियान कुनै गुटीय असन्तोष वा क्षणिक विद्रोह होइन, बरु वैधानिक, संस्थागत र लोकतान्त्रिक सुधार अभियान भएको प्रमाणित गर्छ।

“बैकल्पिक शक्ति”को भाष्यलाई चुनौती

पछिल्ला वर्षहरूमा व्यापक रूपमा भनिन्थ्यो, “कांग्रेस सकियो”, “अब विकल्प चाहियो।” तर आज रुपान्तरणीत कांग्रेसले त्यो भाष्य नै उल्ट्याइदिएको छ।

आज कांग्रेस केवल परम्परागत दल होइन, बैकल्पिक शक्तिको पनि विकल्प बनेको छ। यसले स्पष्ट सन्देश दिएको छ, समाधान सधैं नयाँ पार्टीमा मात्र हुँदैन,कहिलेकाहीँ पुरानो संस्थाको साहसी रुपान्तरण नै सबैभन्दा बलियो विकल्प बन्छ।

साझा भविष्यतर्फको आशा

अब सबै नेपालीले चाहेजस्तो, कल्पना गरेजस्तो कांग्रेस सम्भव छ भन्ने विश्वास पुनः जागृत भएको छ। रुपान्तरण कांग्रेस कुनै एक पुस्ता, एक गुट वा एक वर्गको लागि सीमित छैन।

यो कांग्रेसमा, जेन–जी अटाउँछन्, अनुभवी पुस्ता अटाउँछ, परिवर्तन चाहने कार्यकर्ता अटाउँछन्, लोकतन्त्रप्रति इमानदार नागरिक अटाउँछन्।

यही रुपान्तरण कांग्रेसमार्फत जेन–जी भाइबहिनीहरू र आम नेपालीले आफूले कल्पना गरेको नेपाल भेट्ने आशा गर्न सक्छन्, जहाँ राजनीति सेवा हो, सत्ता साधन होइन ।

अन्तिममा,

जेन–जी आन्दोलनले चेतना दियो, गगन–विश्वको नेतृत्वले त्यो चेतनालाई संस्थागत दिशातर्फ मोड्यो।

यसैले आज आत्मविश्वासका साथ भन्न सकिन्छ । आजको नेपाली कांग्रेस केवल विगतको बोझ होइन, भविष्यको सम्भावना हो।