काठमाडौं जाने पूर्वको प्रमुख नाका अहिले सुनसान
काठमाडौं—एक समय काठमाडौं जाने पूर्वको प्रमुखनाकाको रूपमा रहेको रामेछापको पुरानो बजार साँघुटार अहिले सुनसान भएको छ।
लिखु खोला किनारस्थित यो बजार पूर्वको ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु र भोजपुर क्षेत्रका मानिसहरूको काठमाडौं आउजाउ गर्ने मुख्यनाका थियो । तर सडक सञ्जाल विस्तार र समय परिवर्तन सँगै साँघुटार बजारको चहलपहल घट्दै गएको छ।
विसं १९६० मा सुरु भई १९६५ सालतिर साँघुटारबाट ओखलढुङ्गा तर्न लिखु खोलामा झोलुङ्गे पुल बनेपछि यहाँको आवतजावत बढेको थियो । पुल तरेर पूर्व जाने मानिसहरूको आउजाउ बढेपछि साँघुटारमा एक स्थानीयले नाङ्ले पसल सुरु गरेका स्थानीय हीरा उदास बताउँछन्।
पछि १९८५ सालदेखि नेवार समुदाय र भक्तपुरबाट आएका भदौकाजीहरूले यहाँपसल सुरु गरेका थिए ।
हजुबा पुस्ताले सुरु गरेको साँघुटारको व्यापार अहिले नाति र पनाति पुस्ताले धानी रहेका छन् । तर कुनै समय भ्याइनभ्याइहुने बजारको व्यापार अहिले सुनसान छ ।
साँघुटार बजार ऐतिहासिक बजारको रूपमा चिनिन्छ । करिब एक सयवर्ष पुरानो यो बजारमा ढुङ्गा माटोले बनेका अग्ला घरहरू देखिन्छन्। यस्ता घरहरू चार तले निर्माणका छन् र अहिले बाहिरबाट सिमेन्टले पोतिएको अवस्थामा छन्। बजार क्षेत्रमा क्रमशःनयाँ सिमेन्टका घर बन्न थालेका छन्।
ऐतिहासिक महत्वका यी घरहरू विस्तारै भत्कँदै र माटोमा मिल्दै जाने क्रम बढ्दै गएको छ । यो बजारलाई साना सहरको रूपमा विकास गर्न सके मौलिकताको संरक्षण र गाउँबाट सहर पलायनलाई पनि रोक्न सकिने अवस्था छ ।
स्थानीय र पुरातात्विकहिसाबले महत्त्वपूर्ण यी पुराना घर र साँघुटारको मौलिकता संरक्षण गर्न पुराना घर संरक्षण कार्यक्रम आवश्यक रहेको स्थानीयहरू बताउँछन्। अन्यथा यो बजारको ऐतिहासिक पहिचान माटोमा मिसिने खतरा रहेको उनीहरूको भनाइ छ ।