काठमाडौं उपत्यका असुरक्षित भन्दै प्रहरीले गर्यो यस्तो अनुरोध

शुक्रबार, २७ असार २०७६

काठमाडौं – बिहिबारदेखि परेको अविरल वर्षाको कारण काठमाडौं उपत्यकासहित असुरक्षित भएको भन्दै प्रहहरीले सर्तक रहन अनुरोध गरेको छ ।

निरन्तर वर्षाले उपत्यकाको कलंकी, वनस्थली, सामाखुसी, तीनकुने, बानेश्वर, मुलपानी, भक्तपुरको सल्लाघारी, ललितपुरको पाटनलगायत स्थानमा पानी जमेर आवतजावतमा समेत समस्या भएपछि प्रहरीले यस्तो अनुरोध गरेको हो ।

वर्षाले बाग्मती नदी र विष्णुमती नदीमा पानीको सतह बढ्न थालेकाले तटीय क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन् । वर्षाले नदीमा बाढी आउने जोखिमले स्थानीय त्रसित बनेका हुन् ।

बाढी र डुबानको उच्च जोखिमलाई न्यूनीकरण गर्न प्रहरी हेडक्वार्टरबाट खटिएको विपद् व्यवस्थापन टोली र काठमाडौं प्रहरीले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सर्तकता अपनाउन आग्रह गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले हेडक्वार्टरबाट सहयोगको लागि आएको विपद् व्यवस्थापन टोलीसँग समन्वय गरेर ठाउँ–ठाउँमा प्रहरी स्ट्यान्डबाई राखिएको बताए ।

‘परिसर मातहतका सम्पूर्ण युनिटलाई रेक्स्यूको लागि स्ट्यान्डबाई रहन भनिएको छ,’ डीएसपी बोगटीले भने, ‘यदि त्यस्तो केही परिहाल्यो भने १०० मा फोन गर्न पनि अनुरोध गर्छौं ।’

नदीको आसपास बस्नेहरु सबैभन्दा बढी सुरक्षा सर्तकताका साथ बस्न समेत काठमाडौं प्रहरीले आग्रह गरेको छ । नदी आसपासबाट सवारी साधन चलाउनेहरुलाई डाइभर्ट भएर अन्य कुनै बाटोको प्रयोग गरेर आ–आफ्नो घर जान समेत आग्रह गरेको छ ।