गोरखा २ मा उम्मेदवारी दिएका बाबुरामलाई रास्वपाको भर

सोमबार, ५ माघ २०८२

काठमाडौं – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता डा। बाबुराम भट्टराईले गोरखा-२ मा आफूलाई रास्वपाले सघाउने विश्वास व्यक्त गरेका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले गोरखामा पत्रकारहरूसँग कुरा गर्दै आफूलाई रास्वपाले अभिभावक ठान्ने गरेको बताए। उनले भने, ‘६४ देखि निरन्तर साथीहरूले उठ भनेको बेलामा उठेको छु, नउठ् भनेको बेलामा छोडेको पनि छु। अहिले उठ् भनेकोले उठेको छु। यो मेरो रुचिको र मेरो मात्रै चाहनाको कुरा होइन, आवश्यकताको कुरा हो। फेरि मतदाताले निर्णय गर्ने कुरा हो।’

उनले चुनाव लड्ने निर्णय भर्खरै गरेको भन्दै मतबारे मूल्याङ्कन गरिनसकेको बताए। उनले सहयोगका लागि अन्य दलसँग कुरा अहिलेसम्म नगरेको पनि बताए।

उनले भने, ‘अहिले त मैले कसैसँग पनि कुरा गरेको छैन। मैले पहिले पनि कुरा हुँदाखेरि रास्वपाका साथीहरूले हाम्रो अभिभावक तपाईँ नै हो भनेर रविजी लगायतका साथीहरूले भन्ने पनि गर्नुहुन्थ्यो। विचारले मात्रै होइन, तपाईँ जस्तो परिपक्व मान्छे त संसद्मा नै हुनुपर्छ भन्ने उहाँहरूको बुझाइ छ। अहिले नयाँ दलहरू थुप्रै दलहरू, अरू पनि साथीहरूको पनि छ। उहाँहरूले पनि हाम्रो अभिभावक नै भन्नुहुन्छ।’

हिजो नयाँ शक्ति लगायतका पार्टीहरू मिलेर अहिले प्रलोपा बनेको भएपनि औपचारिक ढङ्गले पार्टीको कार्यकारी भूमिकामा आफू नरहेको बताए।

उनले थपे, ‘मलाई त सबै पक्षका साथीहरूले गर्नुहुन्छ जस्तो लाग्छ अहिले मलाई। मैले घोषणा गर्ने बित्तिकै पनि गाउँका साथीहरूले, खुसी लाग्यो, तपाईँ उठ्नु भएको छ। अब हामी दल भित्र छौँ, अब कस्तो गर्छ, जे भएपनि हामी सुरक्षित छौँ है भन्ने खालको सन्देश पनि सुनिसकेको छु।’ यो क्षेत्र रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीको हो। यहाँ एमालेले चक्रे मिलन र नेकपाले लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाएको छ।