कास्की–२ मा उम्मेदवार फेर्न रास्वपाका १० जना वडा सभापतिले पठाए पत्र
काठमाडौं—रवि लामिछानेले गलत व्यक्तिलाई टिकट दिएको भन्दै १० वडासभापतिले विद्रोह गरेका छन् ।
कास्की क्षेत्र नम्बर २ मा उत्तम पौडेललाई टिकट दिएर रास्वपाले गल्ति गरेको भन्दै ११ वडामध्ये १० वडाका सभापतिहरूले उम्मेदवार फेर्न चेतावनी दिदै विद्रोह गरेका हुन् ।
वडासभापतिको मागमा महानगर सचिव नरेश रेग्मी र वडा सदस्यहरूले पनि ऐक्यवद्धता जनाएका छन् ।
क्षेत्रको भूगोल बुझेको र पार्टीलाई योगदान गरेको योग्य व्यक्ति हुँदाहुँदै अयोग्य व्यक्तिलाई टिकट दिइएको आरोप उनीहरूको छ । असन्तुष्ट पक्षले पार्टीको निर्णय इमानदार र सक्रिय सदस्यहरूको भावना विपरीत भएको बताएको छ ।
उनीहरूले उम्मेदवार नफेरे विद्रोह गर्ने चेतावनीसमेत दिएका छन् । ‘पार्टीका इमानदार सक्रिय निःस्वार्थ सदस्यहरूको भावना विपरीत हार निश्चित हुने उम्मेदवार हामीलाई स्वीकार नभएको जानकारी गराउँदछौँ,’ पत्रमा भनिएको छ ।
क्षेत्र नम्बर २ का ११ वडामध्ये अधिवेशन भएका १० वडाका सभापतिहरू टिकट दिइएको उम्मेदवारका विरुद्ध लागेका छन् ।
पोखरा–१६ का पूर्वसभापति जीवन बहादुर बस्नेत, पोखरा महानगर–२१ का सभापति पवित्रमणि अधिकारी, वडा नम्बर ७ का सभापति ज्ञानेन्द्र सुवेदी, वडा नम्बर ३ का सभापति प्रकाश बास्तोला, वडा नम्बर १७ का सभापति नुर बहादुर विश्वकर्मा, वडा नम्बर १५ का सभापति पुस्कल ढकाल, वडा नम्बर ११ का सभापति नवराज लामिछाने, वडा नम्बर ८ का सभापति कृष्णमान दुसाजु, वडा नम्बर २० का सभापति दिपेश पौडेल, वडा नम्बर १६ का सभापति विश्वबन्धु थापा र वडा नम्बर ३३ का सभापति दिनेश आचार्यले संयुक्त पत्र पठाएका हुन् ।
महानगर सचिव नरेश रेग्मी र वडा सदस्यहरूले पनि उक्त मागमा ऐक्यवद्धता जनाएका छन् । रास्वपाले कास्की–२ मा उत्तम पौडेललाई टिकट दिएको छ । यो क्षेत्रबाट नेताहरू माधव कँडेल, योगेन्द्र केसी, अशोक खड्का लगायतले दाबी गरेका थिए ।