घण्टी चुनाव चिन्हका उम्मेदवार मनोनयन दर्ता अघि सम्पर्कविहिन
काठमाडौं—घण्टी चुनाव चिन्हका उम्मेदवार मनोनयन दर्ता अघि सम्पर्कविहिन भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट मनाङको टिकट लिएर हिडेका अनिल गुरुङ मनोनयन दर्ता अघि हराएका हुन् ।
रास्वपा गण्डकीका महामन्त्री नवीन त्रिपाठीका अनुसार टिकट लिएर गएका गुरुङ मोबाइल स्विच अफ गरेर फरार भएका छन् ।
एमाले, कांग्रेस, नेकपा, राप्रपासहित ५ जनाको मनोनयन दर्ता भएको छ ।
आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसबाट निवर्तमान सांसद टेकबहादुर गुरुङले उम्मेदवारी दिएका छन् भने नेकपा एमालेबाट पोल्देन छोपाङ गुरुङ चुनावी मैदानमा उत्रिएका छन् ।
यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट यशोदा गुरुङ सुवेदीले उम्मेदवारी दर्ता गराएकी छिन् । यशोदा पहिलोपटक प्रत्यक्ष निर्वाचनमा होमिएकी हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कुविरसिंह गुरुङ र मंगोल नेशनल अर्गानाइजेशनबाट रामबहादुर घलेले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मनाङमा मुख्य गरी नेपाली कांग्रेस र नेकपा एमालेबिच प्रतिस्पर्धा हुने देखिएको छ । एमाले उम्मेदवार पोल्देन यसअघि २०७९ को निर्वाचनमा कांग्रेसका टेकबहादुर गुरुङसँगै पराजित भएका थिए ।
यस पटक पनि यी दुई चिरपरिचित प्रतिद्वन्द्वीबिच नै मुख्य भिडन्त हुने आकलन गरिएको छ ।