गगन थापाले मधेस रोज्नुका ५ कारण

बुधबार, ७ माघ २०८२

अहिले आम जनतामा एउटा गहिरो कौतुहलको विषय बनेको छ, गगन थापा किन मद्येश झरे ? आज गगन थापा केवल नेपाली कांग्रेसका महामन्त्री वा लोकप्रिय युवा नेता मात्र रहेनन्, उनी नवजागृत कांग्रेसका केन्द्रीय नेतृत्वकर्ताका रूपमा उदाएका छन्। चुनावपश्चात् उनी नेपालका प्रबल भावी प्रधानमन्त्रीका ताबेदारसमेत हुन् ।

त्यसैले उनको मधेस रोजाइ अरू नेताजस्तो आकस्मिक लहड होइन, ठोस राजनीतिक आधार र दीर्घकालीन दृष्टिमा आधारित निर्णय हो।

१) मधेस कांग्रेसको ऐतिहासिक आधारभूमि

मधेस कुनै बेला नेपाली कांग्रेसको उर्वर भूमि र बलियो आधार इलाका थियो। लोकतान्त्रिक आन्दोलन, चुनावी राजनीति र संगठन विस्तारमा मधेसको भूमिका सधैं निर्णायक रहँदै आएको छ। तर समयक्रममा कांग्रेस त्यहाँ कमजोर बन्दै गयो। गगन थापा पार्टीको नेतृत्व तहमा पुगिसकेपछि यो ऐतिहासिक विचलनलाई उनले गहिरो रूपमा महसुस गरेको हुनुपर्छ।

त्यसैले कांग्रेसको आधार पुनः मजबुत बनाउने रणनीतिक प्रयत्नका रूपमा मधेस रोजिएको देखिन्छ।

२) प्रतिकूलतामा अनुकूलता खोज्ने नेतृत्व शैली

गगन थापाको राजनीतिक पहिचान नै सहज बाटो होइन, चुनौतीपूर्ण मोर्चा रोज्ने नेताका रूपमा स्थापित छ। काठमाडौंको सुरक्षित, परिचित र सहज राजनीतिक वातावरण छोडेर मधेस जानु उनको यही नेतृत्व चरित्रसँग मेल खान्छ।

यो कदमले उनले आफूलाई संघर्षबाट भाग्ने होइन, सामना गर्ने नेताका रूपमा पुनः प्रमाणित गरेका छन्।

३) मधेस बिना राष्ट्रिय नेतृत्व सम्भव छैन

राजनीतिक यथार्थ के हो भने— मधेसलाई बेवास्ता गरेर नेपालमा स्थायी राष्ट्रिय नेतृत्व निर्माण हुन सक्दैन। जनसंख्या, संसदमा प्रतिनिधित्व, आर्थिक योगदान र भूराजनीतिक संवेदनशीलताको दृष्टिले मधेस निर्णायक शक्ति हो।

गगनले मधेस रोज्नु भनेको भावी प्रधानमन्त्रीका रूपमा आवश्यक राष्ट्रिय आधार तयार गर्नु हो।

४) पहिचान र समावेशिताको मुद्दामा स्पष्ट सन्देश

मधेस पहिचान, समावेशिता, समान नागरिकता र राज्यसँगको सम्बन्धका प्रश्नमा सधैं संवेदनशील रहँदै आएको क्षेत्र हो। गगनको उपस्थिति मधेसमा केवल संगठन विस्तार मात्र होइन, कांग्रेस अब यी मुद्दाबाट भाग्दैन भन्ने स्पष्ट सन्देश पनि हो।

यो कांग्रेसको वैचारिक पुनर्स्थापनाको संकेत हो।

५) नवकांग्रेस निर्माणको सुरुवात केन्द्रबाट होइन, किनाराबाट

गगन थापाको राजनीतिक सोच केन्द्रमुखी शक्ति सन्तुलनमा सीमित छैन। उनका लागि मधेस भनेको किनारामा परेका आवाजबाट पार्टी र राज्य पुनर्निर्माण गर्ने सुरुवात बिन्दु हो। यही सोचले उनलाई परम्परागत केन्द्र होइन, चुनौतीपूर्ण भूगोल रोज्न प्रेरित गरेको देखिन्छ।

त्यसैले गगन थापाको मधेस रोजाइ कुनै संयोग होइन। यो इतिहासको बोध, वर्तमानको यथार्थ र भविष्यको महत्वाकांक्षाको संगम हो। यदि कांग्रेसले यो संकेत बुझ्न सकेन भने पार्टी फेरि चुक्नेछ ?

तर यदि बुझ्न सक्यो भने, मधेसबाटै कांग्रेसको पुनर्जागरण र राष्ट्रिय नेतृत्वको बाटो खुल्न सक्छ।