संसद छिर्ने दाउमा उद्योगी-व्यवसायी : को कहाँबाट भिड्दै ?

बुधबार, ७ माघ २०८२

काठमाडौं —आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता भइसकेको छ।

मनोनयनका क्रममा उद्योगी तथा व्यवसायीहरूको उत्साहजनक सहभागिता देखिएको छ।

निर्माण व्यवसायीदेखि खर्बपतिसम्मले संसद् यात्रा तय गर्न चुनावी मैदान रोजेका छन्।

प्रमुख राजनीतिक दलहरूले ‘हेभीवेट’ व्यवसायीहरूलाई टिकट दिएर चुनावी मैदानमा उतारेका हुन्। विभिन्न राजनीतिक दलबाट मनोनयन दर्ता गराउने उद्योगी तथा व्यवसायीहरूको सूची निकै लामो छ।

नेपाली कांग्रेसबाट टिकट लिनेको संख्या दर्जन बढी
नेपाली कांग्रेसबाट एक दर्जनभन्दा बढी उद्योगी तथा व्यवसायी चुनावी मैदानमा होमिएका छन्।

नेपालका एकमात्र फोर्ब्स सूचीमा सूचीकृत खर्बपति तथा सीजी ग्रुपका अध्यक्ष विनोद चौधरीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ बाट उम्मेदवारी दिएका छन्। यसअघि २०७९ को निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट विजयी भएका थिए।

मोरङ–३ बाट उम्मेदवारी दिएका सुनिल शर्मा मेडिकल कलेज व्यवसायी हुन्। उनी यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। कांग्रेसले होटल तथा पर्यटन व्यवसायी रमेश धमलालाई धादिङ क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाएको छ। धमला ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष हुन्।

त्यस्तै, यशोदा फुड्सका सञ्चालक चुन्नप्रसाद शर्मा रुपन्देही–२ र पिके भेन्चर्सका प्रबन्ध निर्देशक प्रेम खत्री गोरखा–१ बाट चुनावी मैदानमा छन्। पर्यटन व्यवसायी कृष्ण रिजाल धादिङ–१ र निर्माण व्यवसायी मोहन आचार्य रसुवाबाट उम्मेदवार बनेका छन्।

कुरियर तथा कार्गो व्यवसायी प्रकाशसिंह कार्की सोलुखुम्बुबाट र मुक्तिनाथ कृषि कम्पनीका सञ्चालक भरतराज ढकाल स्याङ्जा–१ बाट उम्मेदवार बनेका छन्। ढकाल मुक्तिनाथ विकास बैंकका पूर्वअध्यक्ष तथा पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत हुन्।

स्टिल तथा पाइप व्यवसायमा संलग्न जगदम्बा इन्टरप्राइजेज प्रालिका निर्देशक अनिलकुमार रुँगटा पर्सा–४ बाट र वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष तिलक रानाभाट कास्की–१ बाट चुनाव लड्दैछन्। अर्का मेनपावर व्यवसायी किरणकिशोर घिमिरे दाङ–२ बाट उम्मेदवार बनेका छन्।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वाँरले कैलाली–२ बाट उम्मेदवारी दिएका छन्। हुम्लाबाट व्यवसायी कर्णबहादुर बुढा चुनावी मैदानमा छन्। सोही क्षेत्रमा उनीसँग नेकपा एमालेबाट अर्का निर्माण व्यवसायी धनबहादुर बुढाले प्रतिस्पर्धा गर्दैछन्।

एमालेबाट वीरेन्द्रदेखि ‘चक्रे मिलन’सम्म

नेकपा एमालेले उद्योगपति वीरेन्द्रप्रसाद कनौडियालाई कपिलवस्तुको क्षेत्र नं ३ बाट प्रत्यक्षतर्फ उठाएको छ । चिनी उद्योग र कृषि व्यवसायमा संलग्न छन् । कपिलवस्तुमा सञ्चालित महालक्ष्मी सुगर मिलसहित बैंकिङ तथा पूर्वाधार क्षेत्रमा पनि उनले लगानी गरेका छन् ।

त्यस्तै, बारा–४ बाट उम्मेदवार बनेका कृष्णकुमार (किसान) श्रेष्ठ सिमरामा होटल, अपार्टमेन्ट र निर्माण सामग्री व्यवसायमा आबद्ध छन्। झापा–४ बाट वैदेशिक रोजगार व्यवसायी एलपी साँवा लिम्बु (लालप्रसाद) र नवलपुर–१ बाट पर्यटन व्यवसायी भगीरथ सापकोटा उम्मेदवार छन्। सापकोटा नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष समेत हुन्।

स्याङ्जा–१ बाट मुक्तिनाथ विकास बैंकका पूर्वअध्यक्ष मीनप्रसाद गुरुङ र स्याङ्जा–२ बाट कापी उद्योग सञ्चालक खिमबहादुर थापा उम्मेदवार बनेका छन्। म्याग्दीबाट होटल व्यवसायी हरिकृष्ण श्रेष्ठ, कैलाली–१ बाट जलविद्युत व्यवसायी द्वारिका न्यौपाने र दोलखाबाट जलविद्युत व्यवसायी पार्वत गुरुङ चुनावी मैदानमा छन्।

काभ्रे–१ बाट पार्टी प्यालेस र रात्रिकालीन व्यवसायमा आबद्ध अमित लामा र सिन्धुपाल्चोक–१ बाट सीमापार व्यवसायी आङदोर्जे शेर्पा उम्मेदवार बनेका छन्। मनाङबाट कृषि र पर्यटन व्यवसायी पोल्देन छोपाङ गुरुङ तथा गोरखा–२ बाट मिलन गुरुङ (चक्रे मिलन) उम्मेदवार बनेका छन्। ‘चक्रे मिलन’ घरजग्गा कारोबारमा सक्रिय छन्।

बागलुङ–२ बाट ऊर्जा व्यवसायी हिराबहादुर केसी र मोरङ–२ बाट जुत्ता—चप्पल व्यवसायी दिलीपकुमार बगडिया एमालेबाट उम्मेदवार बनेका छन्।

रास्वपा, नेकपा र जनमत पार्टीबाट को(को रु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्यटन तथा रेमिट्यान्स व्यवसायी डीपि अर्याल काठमाडौं–९, सेयर कारोबारी हरि ढकाल चितवन–१ र शिक्षा व्यवसायी आनन्दबहादुर चन्द कैलालीबाट उम्मेदवार बनेका छन्।

पर्यटन बोर्डका पूर्वसीईओ धनञ्जय रेग्मी स्याङ्जा–१, रास्वपाको उद्योग विभागका सचिव पारसमणि गेलाल उदयपुर–१, खल्तीका सहसंस्थापक अरविन्द साह बारा–३ र भक्तपुर उद्योग वाणिज्य संघका महासचिव रुकेश रञ्जित भक्तपुर–१ बाट रास्वपाको उम्मेदवार बनेका छन्।

यस्तै, नेपाल कम्युनिस्ट पार्टीबाट काठ व्यवसायी प्रेम आले कैलाली–५ र मिठाई व्यवसायी सुमन सायमी काठमाडौं–८ बाट चुनावी प्रतिस्पर्धामा छन्।

जनमत पार्टीले सिराहा–४ बाट व्यवसायी वीरेन्द्र महतोलाई उम्मेदवार बनाएको छ। महतो शिक्षा, स्वास्थ्य र बैंकिङ क्षेत्रका लगानीकर्ता हुन्।