फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ : निर्वाचन आयोग

बिहिबार, ८ माघ २०८२

काठमाडौं — निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुराइसक्ने जनाएको छ।

माघ ९ गते उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिने र त्यसपछि प्रत्यक्षतर्फको मतपत्र छपाई सुरु हुने आयोगले जनाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले माघभित्र प्रत्यक्षतर्फको मतपत्र छपाई सम्पन्न गरेर फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुराइसक्ने बताए। त्यस्तै समानुपातिकतर्फ डेढ करोड मतपत्र छपाई भइसकेको र बाँकी ५० लाख मतपत्र छपाई कार्य अन्तिम चरणमा पुगेको उनले जानकारी दिए।

उनले निर्वाचनका लागि ५१ मध्ये ३७ वटा सामाग्री सम्बन्धित जिल्लामा नै खरिद गर्ने व्यवस्था गरिएको बताए। बाँकी रहेका १४ वटा सामग्रीहरू माघ महिनाको तेस्रो हप्ताभित्र प्राप्त गर्ने र खण्ड-खण्ड बनाएर ढुवानी गरिने उनको भनाइ छ।

उनले गलत सूचना नियमन गर्न निरन्तर आयोगले काम गरिरहेको र नियमनकारी निकायसँग सहकार्य गरेर कारबाहीको दायरा ल्याउने काम भएको उल्लेख गरे।

निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारको नामावली प्रकाशन गरेपछि शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ।

माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।

त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको आयोगले जनाएको छ। आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि १ गरी तीन हजार ४ सय ८७ को उम्मेदवारी दर्ता भएको छ।